गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सार्वजनिक गरेका १७ विकास बैंकले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
जसमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बैंकले आर्जन गरेको नाफा कुल नाफाको १९ प्रतिशत हुन आउँछ ।
मुक्तिनाथ विकास बैंक वार्षिक प्रतिशेयर आम्दानीमा दोस्रो, खराब कर्जामा दोस्रो कम, जगेडा कोषमा तेस्रो तथा चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी र खुद ब्याज आम्दानीमा प्रथम स्थानमा रहेको छ ।
गत आवको वित्तीय विवरण अनुसार १७ विकास बैंकहरुले ४ खर्ब ३० अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५५ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यसबाट बैंकहरुले १४ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
यस अवधिमा १७ विकास बैंकको कुल चुक्ता पूँजी ३२ अर्ब २१ करोड ४१ लाख र जगेडा कोषमा १४ अर्ब ८१ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा बैंकहरुको खराब कर्जा अनुपात ०.१४ प्रतिशतदेखि अधिकतम ८.९९ प्रतिशतसम्म देखिएको छ ।
खुद नाफा
गत आवमा बैंकहरुले औषतमा ३५ करोड ६५ लाखका दरले खुद नाफा आर्जन गरेका छन् । १७ बैंकले ६ अर्ब ६ करोड नाफा गरेकोमा नारायणी डेभलपमेन्ट बैंक सबैभन्दा धेरै १ करोड ८ लाख नोक्सानी छ भने बाँकी सबै बैंक नाफामा रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले ११५ करोड नाफा आर्जन गर्दा ७ बैंकहरु मुक्तिनाथ, गरिमा, ज्योति, महालक्ष्मी, कामना सेवा, लुम्बिनी र शाइन रेसुङ्गाले ५० करोडभन्दा धेरै नाफा गत आर्थिक वर्षमा आर्जन गरेका छन् । कर्पोरेट, ग्रीन, सहारा, सिन्धु, कर्णाली र सप्तकोशी डेभलपमेन्ट गरी ६ बैंकले १० करोडभन्दा कम नाफा आर्जन गरेका छन् ।
प्रतिशेयर आम्दानी
गत आवमा विकास बैंकहरुले अधिकतम २६.४० रुपैयाँसम्म वार्षिक प्रतिशेयर आम्दानी कायम गरुेका छन् । कामना सेवा विकास बैंकले सबैभन्दा धेरै इपिएस कायम गर्दा मुक्तिनाथ र गरिमा विकास बैंक क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
खुद नोक्सानीमा रहेको नारायणी डेभलपमेन्टको ८.२३ रुपैयाँले ऋणातमक इपिएस रहेको छ भने कर्पोरेट, ग्रीन, सिन्धु, सहारा, र सप्तकोशीको वाषिृक प्रतिशेयर आम्दानी दश रुपैयाँभन्दा कम रहेको छ । दशदेखि बीस रुपैयाँ इपिएस हुने विकास बैंकको संख्या ७ छ ।
विकास बैंकहरुको औषत वार्षिक प्रतिशेयर आम्दानी १३.१७ रुपेयाँ छ ।
तालिकामा चुक्ता पूँजी, जगेडा कोष, निक्षेप, कर्जा र खुद ब्याज आम्दानी र खुद नाफालाई हजारमा, प्रतिशेयर आम्दानी र नेटवर्थलाई रुपैयाँमा र खराब कर्जालाई प्रतिशतमा उल्लेख गरिएको छ ।
नाेट: तालिकालाई ठूलो साइजमा हेर्न फोटोमा डबल क्लिक गर्नुहोला
खराब कर्जा अनुपात
गत आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा अनुपात ०.१४ प्रतिशतदेखि अधिकतम ८.९९ प्रतिशतसम्म देखिएको छ । विकास बैंकहरुको औषत खराब कर्जा अनुपात २.३८ प्रतिशत देखिएको छ ।
नारायणी डेभलपमेन्ट बैंक रसिन्धु विकास बैंकको खराब कर्जा अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरैरहँदा मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा कम छ ।
गत आवमा ६ वटा विकास बैंकको खराब कर्जा २ प्रतिशतभन्दा कम छ । २ देखि ५ प्रतिशतको बीचमा खराब कर्जा हुने विकास बैंकको संख्या ४ रहेको छ ।
प्रतिशेयर नेटवर्थ
गत आवमा तीन बैंकको प्रतिशेयर नेटवर्थ मात्र १५० रुपैयाँभन्दा माथि देखिएको छ । लुम्बिनी विकास बै.क, महालक्ष्मी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँभन्दा माथि देखिएको हो ।
नारायणी डेभलपमेन्टको सबैभन्दा कम ६१.६९ रुपैयाँ रहँदा ग्रीन, कणर्मली, सिन्धु र सप्तकोशीको प्रतिशेयरनेवर्थ १२० रुपैयाँभन्दा कम छ । लुम्बिनीविकास बैंकको सबैभन्दा धेरै १८२.२० रुपैयाँ प्रतिशेयर नेटवर्थ छ ।
विकास बैंकहरुको औषत वार्षिक प्रतिशेयर नेटवर्थ १३६.०६ रुपेयाँ छ ।
आठ विकास बैंकको चुक्ता पूँजी साढे २ अर्ब धेरै
गत आवमा वित्तीय विवरण निकालेका १७ मध्ये ८ बैंकको चुक्ता पूँजी २ अर्ब ५० करोडभन्दा धेरै रहेको छ । मुक्तिानथको सबैभन्दा धेरै ४ अर्ब ८१ करोड पूँजीरहँदा ज्योति, गरिमा, शाइनरेसुङ्गा, महालक्ष्मी, लुम्बिनी, साग्रिला र कामनासेवाको चुक्ता पूँजी २ अर्ब ५० करोडभन्दा धेरै छ ।
अन्य ९ बैंकको चुक्ता पूँजी १ अर्बभन्दा कम छ । नारायणी डेभलपमेन्टको सबैभन्दा कम १३ करोड १२ लाख मात्र छ । गरिमा विकास बैंकमा विलय हुने तयारीमा रहेको सहाराको २७ करोड, कर्पोरेटको ४१ करोड छ । कर्णाली, ग्रीन, सिन्धु, मितेरी, र एक्सेलको चुक्ता पूँजी ५० देखि ८१ करोडको बीचमा रहेको छ ।
जगेडा कोषमा लुम्बिनी विकास बैंक अगाडि, महालक्ष्मी दोस्रो
गत आवसम्मको प्रतिवेदन अनुसार लुम्बिनी विकास बैंक जगेडा कोषमा सबैभन्दा अगाडि छ । बैंकको कोषमा २ अर्ब ३८ करोड बढी सञ्चित हुँदा दोस्रो स्थानको महालक्ष्मी विकास बैंकको २ अर्ब १६ करोड र मुक्तिनाथको १ अर्ब ९९ करोड रहेको छ । गरिमा ज्योति, शाइन, र कामना सेवाको १ अर्ब बढी जगेडा कोष रहेको छ ।
नारायणी डेभलपमेन्टको जगोड कोष ५ करोड बढीले ऋणात्मक छ । ग्रीन, कर्णाली, सिन्धु, सहारा, सप्तकोशी र कर्पोरेटको जगेडा कोष कमजोर रहेको छ ।
निक्षेप संकलन, कर्जा परिचालन र खुद ब्याज आम्दानी
निक्षेप संकलन, कर्जा परिचालन र खुद ब्याज आम्दानी तीनवटै सूचकमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले गत आवमा ८६.९० अर्ब निक्षेप संकलन गरी ७२.८९ अर्ब कर्जा लगानीबाट २.७० अर्ब खुद ब्याज आम्दानी गरेको छ ।
मुक्तिनाथपछि गरिमा, ज्योति, कामना सेवा र सांग्रिला क्रमश दोस्रोदेखि पाँचौं नम्बरमा निक्षेप संकलन र कर्जा परिचालन गर्ने बैंक बनेका छन् । खुद ब्याज आम्दानीमा गरिमा दोस्रो, महालक्ष्मी तेस्रो, ज्योति चौथो र कामना सेवा पाँचौं स्थानमा रहेका छन् ।
यस अवधिमा नारायणी डेभलपमेन्टको सबैभन्दा कम ९.८४ करोड निक्षेप संकलन गरी ६.९० करोड कर्जा लगानी गरेकोमा खुद ब्याज आम्दानी ९.५४ लाख ऋणात्मक छ । कर्पोरेटल डेभलपमेन्ट बैंकले पनि ४४.३१ करोड निक्षेप संकलन गरी ३९.०४ करोड कर्जा प्रवाहबाट ५४.८८ लाख खुद ब्याज आम्दानी गरेको छ । अन्य बैंकको निक्षेप संकलन र कर्जा लगानी १ अर्बभन्दा माथि रहेको छ । आठ बैंकको निक्षेप संकलन र ९ बैंकको कर्जा लगानी दश अर्बभन्दा कम छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया