.jpg)
अर्थ समितिले सर्वोत्तमको शेयर कारोबारमा संलग्न नियामक निकायका पदाधिकारी माथि छानबिन गरी कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार अर्थमन्त्रालयसँगको छलफलपछि समितिले निर्देशन दिँदै छनबिन सम्पन्न गरी कानून अनुसार कारबाही गर्न निर्देशन दिएको हो ।
बुक विल्डिङ विधि मार्फत मूल्य निर्धारण गरी सर्वसाधारणमा शेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर नियामक निकायका पदाधिकारीले आफन्तको नाममा खरिद गरेपछि विवाद बढेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुङगानाले आफ्नी छोरीको नाममा, बोर्डका सञ्चालक चन्दाप्रसाद ढकालले आफ्नो भाइको नाममा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको विषय अर्थ समितिसम्म पुगेको थियो ।
अर्थसमितिले धितोपत्र बोर्ड, नेप्सेसँग छलफल गरेपछि अर्थमन्त्रालयसँग पनि छलफल गरेको हो । अर्थमन्त्रालयसँगको छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सर्वोत्तमको शेयर कारोबारको सम्बन्धमा बोर्डसँग मात्र नभई व्यक्तिसँग पनि स्पष्टिकरण सोधिएको बताए । “व्यक्तिलाई सोधिएको स्पष्टिकरणको जवाफ चित्त नबुझेपछि छानविन समिति बनाएर अध्ययन भइरहेको छ,” मन्त्री शर्माले भने, “छानबिन समिति गठन गरिएको अहिलेको समस्यालाई टार्नका लागि मात्र होइन ।” अध्ययन समिति गठन गर्नुको उद्देश्य अहिले आएको समस्यालाई सहज रुपमा मिलाउनका लागि नभएको मन्त्री शर्माले स्पष्टोक्ती थियो ।
मन्त्रीस्तरीय निर्देशनमा समिति बनाएर भैरहेको अध्ययनको प्रतिवेदन नआउँदै आफुले केही भन्न नमिल्ने मन्त्री शर्माले समितिलाई जानकारी दिए । समितिलाई यथाशीघ्र काम गर्न समेत निर्देशन दिएको बताउँदै मन्त्रीले भने, “छानबिन समितिको प्रतिवेदनपछि आवश्यक काम कारबार्ही गरिनेछ, त्यसको जानकारी यस अर्थ समितिमा पनि गराइनेछ ।”
अर्थ मन्त्रीसँगको छलफलपछि पूँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै नीगित, कानुनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलिगत पक्षमा गर्नु पर्ने सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन अर्थ मन्त्रालयलाई निर्देशन पनि समितिले दिएको छ ।
धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले गरेको सर्वोत्तमको शेयर कारोबारका सन्दर्भमा अघि बढेको छानविन प्रक्रिया यथाशीघ्र सम्पन्न गरी कानुन बमोजिम आवश्यक कारबाही अगाडी बढाउन समेत अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया