नेप्सेमा १२२ अंकको करेक्शनपछि साढे १७ अंकको सुधार, लगानीकर्ताको कता छ आकर्षण ?

0
Shares


गत बुधबारपछि ओरालो लाग्न थालेको शेयर बजारमा पछिल्लो तीन दिनमा १२२ अंकको करेक्शनपछि यस साताको  अन्तिम कारोबार दिन बिहीबार १७.६० अंकको सुधार आएको छ ।

आइतबार र सोमबारको सार्वजनिक विदासँगै यस साताको दुई करोबार दिन मंगलबार र बुधबार उच्च अंकले घटेको शेयर बजारमा बिहीबार पुनः महोल फर्किएको हो ।

बजारमा आएको सुधारले घट्दा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थाको रहेका लगानीकर्ताको आत्मबल समेत बढेको छ । लाभांश सिजन नजिकिँदै जाँदा लगानीकर्ताले उच्च लाभांश क्षमता भएका कम्पनीको शेयर खरीद गर्न जानकारहरु सुझाव दिन्छन् ।

बजार सूचक सुधारिएसँगै लगानीकर्ताको आकर्षण पुनः विकास बैंक, जलविद्युत कम्पनी र फाइनान्स कम्पनीको शेयरमा नै फर्किएको छ । उच्च कारोबार हुने र शेयरमूल्य बढ्ने दुबैतर्फ यीनै समुहका कम्पनीहरु रहेका छन् ।

अघिल्लो साताको अन्त्यतिर बीमा कम्पनीको शेयर खरीद गर्न लगानीकर्ता लागेपनि पछिल्लो तीन दिनको करेक्शनले विकास बैंक, जलविद्युत र फाइनान्सको शेयरमूल्य उच्च घटेपछि बिहीबार पनि पुनः लगानीकर्ता ती तिनै समुहका शेयर खरीदमा लागेका छन् । बैंकिङ्ग सेक्टरमा लगानी गरेका लगानीकर्ता भने कहिले वाणिज्य बैंकको शेयरमूल्य बढ्छ भनेर कुरेर बसेका छन् ।

बिहीबार कारोबारमा आएका १३ समुहका सूचकमध्ये ८ वटाको सूचक घटेको छ भने ५ वटाको सूचक बढेको छ । हाइड्रोपावर ४.८३, विकास बैंक ४.२२ र फाइनान्स समूह ३.८२ प्रतिशतले बढेको छ । होटल र लघुवित्त सामान्य सकारात्मक भएका छन् । घटेको सूचक सबै १प्रतिशतभन्दा कमले ओरालो लागेका छन् ।

स्टकका अनुसार नेपाल स्टक एक्सचेञ्जमा बिहीबार २३२ वटा कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता कारोबारमा आएको छ । १ लाख ३० हजार ९३८ वटा संख्यामा भएको शेयर खरिदबिक्रीबाट कारोबार रकम १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपैयाँ पुगेको छ । बुधबार १२ अर्ब ९ करोडको शेयर कारोबार भएकोमा अघिल्लो दिनको तुलनामा १ अर्ब ३३ करोडले कारोबार रकम वृद्धि भएको छ ।

आज नेप्से सूचक नेप्से ०.५७ प्रतिशत अर्थात १७.५७ अंकले बढेर ३०९४ दशमलव ०१ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स ३.४० अंकले बढेर ५७१दशमलव ३९ अंकमा पुगेको छ ।

बिहीबार कारोबारमा आएका २२३ मध्ये ८ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँखुखोला जलविद्युत, जीवन विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, नारायणी विकास बैंक र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

खानीखोला हाइड्रोपावर, सिनर्जी पावर, दिश्यश्वरी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, रिलायन्स फाइनान्स, र मल्टिपपर्स फाइनान्सको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ ।

कारोबार रकमका आधारमा पनि अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक ९३.८४ करोडको कारोबार भएको छ । त्यसैगरी अरुण काबेलीको ४५.०६ करोड, रिडी र महालक्ष्मी विकास बैंकको ३० करोड बढीको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंक, आइसिएफसि फाइनान्स, रिलायन्स फाइनान्स, नेशनल हाइड्रोपावर, अपि पावर र नबिल बैंकको २३ करोडदेखि ३० करोडसम्मको शेयर कारोबारमा आएको छ ।

बिहीबारको बजारमा १२ प्रतिशत गुडविल फाइनान्स डिबेञ्चर २०८३, सिटिजन्स म्युचुअल फण्ड २, एलआईसी, शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स, नयाँ सारथी नेपाल लघुवित्त लगायतको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० भाद्र २०७८, बिहिबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।