विदेशी विनिमय सञ्चिति घट्यो, दश महिनाको वस्तु तथा सेवा आयात धान्न प्रयाप्त

0
Shares

गत आर्थिक वर्ष २०७७/७८ मा कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँमा झरेको छ ।

राष्ट्र बैंकका अनुसार २०७७ असारमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा अघिल्लो असारको तुलनामा ०.२० प्रतिशतले घटेको हो ।

पछिल्लो एक वर्षमा २ अर्ब ८१ करोडले विदेशि विनिमय सञ्चिति घटेको हो ।

अमेरिकी डलरको सञ्चिति भने समीक्षा अवधिमा बढेको छ । २०७७ असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ६५ करोड रहेकोमा २०७८ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ४४ अर्ब ६३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ असार मसान्तमा १२.१ प्रतिशतले कमी आई १ खर्ब ५४ अर्ब ३९ करोड कायम भएको छ । २०७८ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.० प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग हाल कायम विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।

२०७६ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ०१ अर्ब ८४ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने अवस्था रहेको थियो ।

विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।