कोभिडले थलिएको डेढ वर्षपछि खुले उपत्यकाका पार्टी प्यालेस

0
Shares

विश्व महामारी कोभिड-१९ को संक्रमणका कारण बन्द भएको १७ महिनापछि उपत्यकाका पार्टी प्यालेस बिहीबारबाट आधिकारिक रूपमा पुनः सञ्चालनमा आएका छन् ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बुधबार आवश्यक स्वास्थ्य मापदण्ड अपनाई चलाउन सहमति दिएसँगै पार्टी प्यालेसले आफ्नो सेवा सञ्चालन गरेका हुन् ।

स्वास्थ्य मापदण्ड पालना गरेर पार्टी प्यालेस चलाउन दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘निषेधाज्ञामा घरबाट बिहेबारी लगायत काम गर्दा साँघुरो भएको र फराकिलो थलो पार्टी प्यालेस हुने भन्ने आवाज सबैतिरबाट उठ्यो,’ उनले भने, ‘घरमै क्याटरिङ राखेर भोज गर्दा झन् भीड भयो ।

त्यो भन्दा व्यवस्थित पार्टी प्यालेस हुने भन्ने भएपछि स्वास्थ्य सावधानी अनिवार्य गरेर चलाउन दिइएको हो । पार्टी प्यालेसमा एक पटकमा कति मान्छे राख्न पाउने भन्ने विषयमा प्रशासनले केही खुलाएको छैन ।

उपत्यका बाहिरका जिल्लाले पनि काठमाडौंकै मोडालिटीअनुसार निषेधाज्ञा खुकुलो पार्दै लगेको उनको भनाइ छ । २०७६ चैतबाट बन्द व्यवसायलाई अहिलेसम्म आधिकारिक रूपमा चलाउन दिने निर्णय गरिएको थिएन । २०७७ मंसिरदेखि माघसम्म फाटफुट कतैकतै चलाइए पनि राम्रोसँग सञ्चालन गर्न नपाइएको व्यवसायी बताउँछन् ।

देशभर महासंघमा आबद्ध ७ हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ छन् । उपत्यकामा पार्टी प्यालेस सञ्चालन गर्न दिने भनिए पनि बाहिरका जिल्लामा यसबारे आधिकारिक निर्णय नभएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीलाबहादुर जीसीको भनाइ छ ।

‘सबै जिल्लामा उपत्यकाकै मोडालिटी अपनाएर पार्टी प्यालेस खुलिरहेका छन्,’ उनले भने, ‘कुनै–कुनै जिल्लामा अझै सवारीसाधनमा जोरबिजोर लागू छ । यो हटाएर निषेधाज्ञा खुकुलो बनाउन पनि हामीले माग गरेका छौं ।

उपत्यकामा महासंघमा आबद्ध चार सयभन्दा बढी पार्टी प्यालेस छन् । एउटा पार्टी प्यालेसमा न्यूनतम लगानी ५० लाखदेखि १२ करोड रुपैयाँभन्दा माथिसम्म छ । अब पनि व्यवसाय चलाउन नपाए सरकारलाई चाबी बुझाउनुको विकल्प नरहेको उनले गुनासो गरे । व्यवसायी स्वास्थ्य मापदण्डप्रति गम्भीर रहेको उनको दाबी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १८ भाद्र २०७८, शुक्रबार  १६ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।