धितोपत्र बजारमा यस साता ४७अर्ब ७६ करोड ८७ लाख बढीको कारोबार भएको छ । लगातार ओरालो लागेर कारोबार रकम समेत घटेको नेप्सेमा यो साता १९९.४८ अंकको उतार-चढाव यो साता देखा पर्यो । यो साता ३११५.७४ बिन्दुसम्म पुगेको नेप्से २९१६.२६ बिन्दुसम्म झरेको थियो । साताको अन्तिममा २९२६.८९ बिन्दुमा बन्द रहेको छ । सातामा १६७.१६ अंकको गिरावट आएको छ ।
यसअघि निषेधाज्ञाका कारण कारोबार प्रविधिमैत्री भएका कारण पनि कारोबार रकमका साथसाथै नेप्सेमा समेत उच्च अङ्कको वृद्धि भएर नयाँ-नयाँ रेकर्ड कायम भएको थियो । तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जाको एकल सीमा प्रतिपरिवार १२ करोडमा झारेपछि ठूला खेलाडीले शेयर बिक्रीगर्दा लाभांश सिजनमा नै नेप्सेमा सातामा १६७ अंकको गिरावट देखा परेको हो ।
नेप्सेका अनुसार कारोबार भएका साताका तीन दिन नै औषतमा ११.९४अर्बको कारोवार भएको छ । कूल २३० कम्पनीका ८ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर ४७ अर्ब ७६ करोड ८७ लाख ११ हजार ८८ रुपैयाँमा कारोबार भएको छ ।
यो साता नेप्से ५.४० प्रतिशतले घटेपछि बजार पूँजीकरण पनि ५.२३ प्रतिशत अर्थात २ खर्ब ३३ अर्ब ४१ करोड २९ लाख रुपैयाँले घटेर ४० खर्ब ८९ अर्ब ५८ करोडमा खुम्चिएको छ । हाल मुलुकको कूल गार्हस्थ्य उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ ।
यस साता पनि अरुण भ्याली हाइड्रोपावरको उच्च कारोबार भएको छ । कम्पनीको मात्र ३ अर्ब ५० करोड २८ लाखको कारोबार भएको हो । यसैगरी अरुण काबेलीको १.३९ अर्ब, जीवन विकास लघुवित्तको १.२८ अर्ब, हिमालयन डिष्टिलरी १.२६ अर्ब र अपि पावरको १.२० अर्बको शेयर कारोबार भएको छ ।
बजार पूँजीकरणमा नबिल बैंक अग्र स्थानमा
बजार पूँजीकरणका आधारमा नबिल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल बजार पूँजीकरण एक खर्ब ९६ अर्ब ३१ करोड बराबर रहेको छ ।
नेपाल दूरसञ्चार कम्पनीको बजार पूँजीकरण १ खर्ब ६७ अर्ब १० करोड रहेको छ । धेरैजसो नम्बर १ मा रहँदै आएको कम्पनीको मूल्य घटेपछि बजार पूँजीकरणमा २९ अर्बले नबिल बैंक भन्दा पछाडि परेको हो ।
तेस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको एक खर्ब ४५अर्ब २० करोड बराबर रहेको छ । नेपाल लाइफको एक खर्ब ३० अर्ब ३ करोड १५ लाख बराबर बजार पूँजीकरण रहेको छ भने नागरिक लगानी कोषको १ खर्ब २० अर्ब ९२ करोड ४६ लाख रहेको छ । एनआईसी एशिया बैंकको पनि १ खर्ब ४ अर्ब ७१ करोड बराबरको बजार पूँजीकरण रहेको छ ।
यस्तै ग्लोबल आईएमई बैंक ९६.०४ अर्ब, एचआईडिसीएल ८८.८८ अर्ब, नेपाल पूर्वाधार बैंक ८३.७० अर्ब, प्राइम कमर्सियल बैंक ७९.६१ अर्ब, माथिल्लो तामाकोशी ७४.३४ अर्ब र एनएमबि बैंकको ७२ अर्बको बजार पूँजीकरण रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया