तेह्रथुम पावर कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।
मंगलबार मध्यान्ह १२ः ३० बजे प्रि–अलटमेन्ट सम्पन्न भएको कम्पनीको आईपीओ बाँडफाँडका लागि भदौ २५ गते शुक्रबार बिहान १० बजे समय निर्धारण गरिएको कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । जसमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट माग भएको थियो ।
अन्तिम दिन १३ गते साँझ ५ बजेसम्म २३ लाख ९६ हजार ३४८ आवेदकबाट ४१.७९ गुणा बढी अर्थात ३ करोड १२ लाख ४६ हजार ९१० कित्ताका लागि आवेदन परेको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा कुल आवेदकमध्ये ७४ हजार ४०० जनाले गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । बाँकी २३ लाख २१ हजार ९४८ सर्वसाधारणको हात खाली हुनेछ । यसअनुसार ३३ जना आवेदकमध्ये १ जनाले मात्र कम्पनीको शेयर पाउनेछन् भने ३२ जनाको हात खाली हुनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी माइनस‘ रेटिङ्ग प्रदान गरेका कारण अन्य कम्पनीको तुलनामा उक्त कम्पनीको आईपिओ राम्रो मानिएको छ ।
तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना निमार्ण गरेको कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया