आर्थिक अनियमितता गरेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दर्ता

0
Shares

तत्कालीन गाउँविकास समिति परिषद्को निर्णय बिना आर्थिक अनियमितता गरेको अभियोगमा तनहुँका सात जनाविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तनहुँको घाँसीकुवा गाविसमा आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा विभिन्न शीर्षकमा गरी एक लाख ४७ हजार ३६४ बराबरको सरकारी रकम हिनामिना एवं हानिनोक्सानी गरेको जनाउँदै आयोगले आयोगके ऐन, २०४८ को दफा १८ र दफा ३५ बमोजिम मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले तत्कालीन गाविस सचिव रामराज न्यौपानेलाई एक लाख ४७ हजार ३६४ रुपैयाँ, तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर सुकदेव अधिकारी र तत्कालीन जिल्ला विकास समितिका योजना अधिकृत गणेश घिमिरलाई ६३ हजार ७५० रुपैयाँ, तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर तीर्थराज ढुङ्गाना र तत्कालीन जिल्ला विकास समितिका अधिकृत ऋषिभक्त वाग्लेलाई ७२ हजार २५० रुपैयाँ माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर भएको जानकारी दिए ।

उनका अनुसार तत्कालीन गाविस रजिष्ट्रार लेखापरीक्षक नरहरि पण्डित र श्रीभद्र खनालउपर भने आयोगले कुनै मागदाबी तोकेको छैन । दशैं खर्चलाई गाविसको परिषद् तयारी खर्च भनी एक÷एक महिनाको तलब थप लिने गरेको, परिषद्को निर्णय बिना आर्थिक सहायता दिने गरेको, सल्लाहकार नियुक्ति पछि गरी पहिल्यैदेखिको सम्झौता बनाई रकम भुक्तानी गरेको, जिन्सी खाता नरहेको, विभिन्न फोटोकपी बिल राखी खर्च लेख्ने गरेको, धेरैजसो योजनाका इस्टिमेट र कार्य सम्पन्न प्रतिवेदनमा जिम्मेवार व्यक्तिको हस्ताक्षर नभएको जनाउँदै आयोगको कार्यालयमा उजुरी परेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।  

 

प्रकाशित मिति: २८ भाद्र २०७८, सोमबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।