नेपाल राष्ट्र बैंकले असोज १३ गते बुधबार (आज) ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बुधबार ३ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज २० गते परिपक्व हुने रिपो बोलकबोल मार्फत् खरिद गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले असोज ७ गते सात दिन अवधिको ३० अर्ब, गत भदौ ३१ गते २० अर्ब, २४ गते १४ दिनको ३० अर्ब र भदौ १७ गते २० अर्ब रिपोमार्फत रकम उपलब्ध गराएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन् ।
सरकारी खर्च पर्याप्त नहुँनु, निक्षेप र रेमिट्यान्समा कमी, आयातमा वृद्धि जस्ता कारणले बैकिङ क्षेत्रले तरलता अभावको समस्या खेपिरहेका छन् । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन् ।
राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा असोज ११ गते सोमबारसम्म चार खर्ब ९९ अर्ब ७० करोड एसएलएफ उपभोग गरिरहेका छन्। बैंकहरु एकातिर कर्जा विस्तार गरिरहने र अर्कोतर्फ उनीहरुले नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत व्याजमा एसएलएफ् सुविधाको पनि उपभोग गरिरहेका छन्।
बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक सापटी दर ४.९३ प्रतिशत पुगेको छ भने कर्जा निक्षेप अनुपात औषतमा ८८.३९ प्रतिशत रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया