र्‍याडिसनले अन्य होटलहरुसँग प्रतिस्पर्धा गर्न निर्माणधीन परियोजनालाई चाँडै सम्पन्न गर्ने

0
Shares

पाँचतारे ओरियण्टल होटल (र्‍याडिसन) ले अन्य होटलहरुसँग प्रतिस्पर्धा गर्दै आफ्नो स्तरीय सेवालाई निरन्तरता दिई व्यावसायिक दृष्टिकोणले अति उत्तम बनाई स्तरीय सेवा प्रदान गर्ने भएको छ ।

असोज १९ गते मंगलबार लाजिम्पाटबाट भर्चुअल मार्फत सम्पन्न भएको होटलको २४ औं वार्षिक साधारण सभामा होटलले अहिले अन्य विभिन्न पाँचतारे होटलहरु निमार्ण भैरहेकाले ती होटलहरुसँग प्रतिस्पर्धा गर्नको लागि आफ्नो पुरानो भवनलाई पूनर्निर्माण गरिन थालेको जानकारी दिइएको हो ।

होटलको अध्यक्ष श्रीमति सुभद्रा श्रेष्ठका अनुसार निर्माणधीन परियोजनालाई चाँडै सम्पन्न गरिने भएको छ । कोभिडका कारण होटल सञ्चालन हुन नसकेको समयलाई उच्चतम उपयोग गरि हाल चालु अवस्थामा आफ्नै जग्गामा निर्माणधिन रहेका परियोजनालाई निरन्तरता दिई चाँडै सम्पन्न गर्ने योजना भएको जानकारी गराइयो । यसले पर्यटन व्यवसाय सामान्य रुपमा सञ्चालन हुनाका साथै त्यसको प्रत्यक्ष लाभ यस होटलले लिन सक्ने विश्वास होटलको छ ।

यस्तै होटललाई अत्यावश्यक पर्ने ए.सि. सिस्टमलाई आधुनिक भिआरएफ सिस्टमले प्रतिस्थापन गर्ने र बढी उर्जा खपत हुने तथा वातावरणमा असर पार्ने पुरानो प्रविधिको बोइल लाई प्रतिस्थापन गर्ने व्यवस्था मिलाइएको जानकारी गराईयो ।

अब आउने दिनहरुमा यस कोभिड १९ को प्रभाव कहिले सम्म रहन्छ भन्ने एकिन गर्न नसकिने भएकोले अबको रणनिति अनुसार कर्मचारी दायित्वलाई कम गर्न भिआरएस सिस्टम लागू गरिएको, खर्चहरुमा मितव्ययिता अपनाउने, होटलका सेवाहरुलाई न्यूनतम मानव संशाधन प्रयोग गरेर नेपाल सरकारले जारी गरेका सुरक्षाका उपायहरु प्रयोग गरि माग अनुसार ब्यवसाय गर्ने नीति होटलले अख्तियारी गर्ने भएको छ । यस्तै कोभिड संक्रमणका कारण आम्दानीमा असर पुगेकाले होटल सञ्चालनका लागि सरकारसँग सहुलियत ब्याजदरमा कर्जा माग गर्ने भएको छ ।

होटल २०.३६ करोड खुद नोक्सानीमा

कोभिड १९ महामारीका कारण गत आर्थिक वर्ष २०७७/७८ मा होटलले २०.३६ करोड रुपेयाँ खुद नोक्सानी ब्यहोरेको छ । अघिल्लो वर्ष २०७६।७७ मा भने होटलले ६.६९ करोड रुपैयाँ खूद नाफा कमाएको थियो ।

गत आवमा होटलको कूल आम्दानी १३.१२ करोड रहेको र कूल सञ्चालन खर्च ३३.४२ करोड भई जम्मा २२.५७ करोड सञ्चालन नोक्सान भएको हो । सम्पूर्ण खर्चहरु कट्टा गर्दा २०.३६ करोड खूद नोक्सान भएको हो ।

गत आवमा उल्लेखिनिय रुपमा नोक्सान हुनुको मुख्य कारण कोभिड १९ को प्रभावले पर्यटकहरु आगमन नहुनु साथै नेपाल सरकारबाट जारी निर्देशन अनुशार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, स्वीमिङ्ग पुल, हेल्थ कल्ब आदी खोल्न बन्देज लगाइनु रहेको साधारण सभामा जानकारी दिइयो ।

गत आर्थिक वर्षमा नोक्सान भएकाले लाभांशको ब्यवस्था नगरिएको अध्यक्ष श्रेष्ठले बताइन् । कम्पनीले संस्थागत सुशासन अन्तर्गत यस्तो विषम परिस्थितिमा पनि समयमा नै वार्षिक साधारण सभा गरेको र आफ्नो वित्तीय प्रतिवेदनहरु पारदर्शिरुपमा प्रत्येक त्रैमासिक एवं वार्षिक रुपमा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (आइएफआरएस) अनुसार तयार गरिएको नेपाल वित्तीय प्रतिवेदन मान –एनएफआरएस) ले निर्धारण गरे अनुसार तयार गर्दै आइरहेको सो अवसरमा जानकारी दिइयो ।

सुभद्रा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति गठन

म्ंगलबार सम्पन्न भएको होटलको २४ औं वार्षिक साधारण सभाले श्रीमति सुभद्रा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।

असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट श्रीमति सुभद्रा श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको कम्पनी सचिव मोहन पाण्डेले जानकारी दिए ।

सभाले संस्थागत शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक श्रीमती सुभद्रा श्रेष्ठ, अनिल दास श्रेष्ठ, श्रीमती मिस श्रेष्ठ र सुश्री विधाता श्रेष्ठलाई निर्वाचित गरेको छ ।

यसैगरी साधारण शेयरधनी समुह (ख) बाट सुनिल लाल श्रेष्ठ र प्रकाश तिवारीका साथै स्वतन्त्र सञ्चालकमा रबिन्द्र लाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।

चौबिसौं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७७।७८ को संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्शान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको बित्तीय विवरणँंग सम्बन्धि टिप्पणीहरु पारित गरेको छ ।

सभाका अध्यक्ष श्रेष्ठले शेयरधनीबाट प्राप्त सुझाव अनुसार होटलको काम कारवाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पुर्ण शेयरधनी महानुभावहरु त्था सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलबार  १७ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।