न्यादी हाइड्रोको आईपीओ आवेदक साढे २३ लाख नाघे, १ कित्ता शेयर बाँड्न पनि नपुग्ने

0
Shares

न्यादी हाइड्रोपावर लिमिटेडको निष्काशन गरेको साधारण शेयरको संख्याभन्दा आईपीओमा आवेदन गर्ने लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६६६ जना धेरै भएका छन् ।

कम्पनीले सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर सर्वसाधारणमा २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेकोमा अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा २३ लाख ५७ हजार १६६ वटा आवेदन परेको हो ।

यसअनुसार सबै आवेदकलाई १ कित्ता शेयर बाँडफाँड गर्न समेत नपुग्ने देखिएको छ । यो संख्याका आधारमा प्रति आवेदकलाई औषतमा ०.८८ कित्ता मात्र भाग पूग्ने देखिन्छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्तिमा १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था छ । यसअनुसार कम्पनीको आईपीओ २ लाख ९ हजार २५० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । प्रारम्भिक तथ्याङ्क अनुसार नै कुल आवेदकमध्ये २१ लख ४७ हजार ९१६ जनाको हात खाली हुने देखिन्छ । शेयर नपाउने यो संख्या ९१.१२ प्रतिशत हो । कुल आवेदकको ८.८८ प्रतिशतले मात्र शेयर पाउनेछन् ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) का अनुसार अन्तिम दिन मंगलबारसम्म कम्पनीको शेयरमा २३ लाख ५७ हजार १६६ वटा आवेदनबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ता शेयर माग भएको छ ।  कम्पनीले सामुहिक लगानी कोषलाई ५ प्रतिशत ( १ लाख १२ हजार ५०० कित्ता) र कम्पनीका कर्मचारीलाई २ प्रतिशत ( ४५ हजार कित्ता) सुरक्षित गरेर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

न्यादी हाईड्रोपावरको आईपीओमा प्रतिकित्ता न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था थियो ।

कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा रेटिङ गर्नुपर्ने प्रावधान अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने बुझिन्छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्ब ५० करोडको प्रतिशेयर रु १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको १०० अङ्कित मूल्यका १५ लाख कित्ता शेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता शेयर गरी १८ लाख कित्ता शेयर गत भदौ १ देखि निष्काशन खुला गरी बाँडफाँड भइसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ आश्विन २०७८, मंगलबार  १९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।