नेप्से बढ्न सकेनः कारोबार खुम्चँदा ४ कम्पनीको शेयमूल्यमा सकारात्मक सर्किट

0
Shares

पछिल्लो समय ब्याजदर र तरलताको चेपुवामा दबाबमा परेको नेप्से घट्ने क्रमले साताको पहिलो कारोबार दिन आइतबार पनि निरन्तरता पाएको छ । गत साता कारोबार भएको तीन दिन नै घटेको शेयर बजार आइतबार पनि राताम्मे रह्यो ।

नेप्से घटेपनि यसअघिका दिनहरुको तुलनामा आजको बजारको परिदृश्य भने फरक देखिएको छ । नेप्से घटेपनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक र एक कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा १ अर्ब २ करोड ३४ लाख रुपैयाँले घटेको छ ।

सुरुवातमा उच्च गिरावट आएको बजार बिस्तारै सम्हालिँदा अन्तिममा सुधारको बाटोमा गएर झिनो गिरावट सहित बन्द भएको छ । यद्यपी अर्थमन्त्रीले अनुत्पादक क्षेत्रको कर्जा प्रवाहमा कडाई गर्न र कृषि लगायत उत्पादनशिल क्षेत्रमा लगानी बढाउन बैंकका सीईओहरुलाई आग्रह गरेकाले शेयर बजारमा उच्च सुधारको अनुमान गर्न सकिन्न ।

बैंकिङ्ग प्रणालीमा पछिल्लो एक महिनामा ४६ अर्बले निक्षेप बाहिरिएकोमा पछिल्लो एक सातामा मात्रै १५ अर्बले निक्षेप घटेको बंकर्स संघको तथ्याङ्क छ । कातिकको २६ दिनमा बैंकहरुले थप ३० अर्ब कर्जा विस्तार गरेका छन् । निक्षेप नहुँदा उच्च माग भएपनि बैंकहरुले पछिल्लो साता ३ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

कारोबारमा आएका २३० मध्ये ११६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०१ कम्पनीको शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थीर रह्यो । तीब्र बिक्री चापका कारण उच्च अंकले घटेको बजार सूचक अन्त्यमा १.३८ अंकको गिरावटमा बन्द भएको छ ।

कारोबारमा आएका १३ मध्ये ७ वटा उपसमूहको सूचक आज बढेको छ भने बाँकी ६ वटा घटेको छ । स्टकका अनुसार आइतबार नेप्से १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेर ५०२.४४ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार कूल २३० वटा कम्पनीको ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रूपैयाँ बराबरको ७४ लाख ३४ हजार ५३७ कित्ता शेयर खरिद बिक्री भएको छ । 

यसदिन महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक २७ करोड ३९ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी आईसीएफसी फाइनान्सको २४.२८ करोड, नबिल बैंकको १६.६७ करोड, लुम्बिनी विकास बैंकको १६.२४ करोड र साहस उर्जा लिमिटेडको १३.४४ करोडको शेयर कारोबार भएको छ ।

आइतबार बोटलर्स नेपाल तराई, तेह्रथुम पावर कम्पनी लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र महालक्ष्मी विकास बैंकको शेयरमूल्य करिब दश प्रतिशतका दरले बढेको छ । यसदिन बोटलर्स नेपाल तराईको १० प्रतिशत, तेह्रथुम पावर र मानुषी लघुवित्तको ९.९९ प्रतिशत र महालक्ष्मी विकास बैंकको शेयरमूल्य ९.८७ प्रतिशतले बढेको हो ।

यसैगरी कालिका पावरको ६.०३ प्रतिशत, ङादी ग्रुप पावरको ५.९३, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.३३ प्रतिशत र लुम्बिनी विकास बैंकको शेयरमूल्य ५.०५ प्रतिशतले बढेको छ ।

हकप्रद सूचीकरणपछि हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को शेयर मूल्यमा नकारात्मक सर्किट लागेर घटेको छ ।  यसैगरी साहस उर्जाको ८.७४ प्रतिशत, नयाँ सारथी लघुवित्तको ३.२६ प्रतिशत, समीट लघुवित्तको ३.०५ प्रतिशत र मैलुङखोला जलविद्युतको २.८९ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७८, आइतबार  १६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।