नेपाल राष्ट्र बैंकले आइतबार वाणिज्य बैंकहरुलाई ब्याजदर वृद्धिमा कडाई गर्ने निर्देशन जारी गरेपछि सोमबार शेयर बजारमा अल्पकालीन वृद्धि देखिएको छ ।
कारोबारमा आएका सबै उपसमुहगत सूचकमा वृद्धि भएको छ भने कारोबार रकममा समेत ६४ करोड रुपैयाँले सुधार भएको छ ।
केन्द्रीय बैंकले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने गरि जारी गरेको निर्देशन खारेज गर्दै नयाँ निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकको निर्देशनले बैंकहरुको ब्याजदर मंसिर महिनामा औषतमा दश प्रतिशतमा रहने भएपछि शेयर बजारमा त्यसको प्रभाव परेको हो । यद्यपी बजारमा तरलता संकट कायम नै रहेको र विप्रेषण आप्रवाह घटेका कारण बजारको वृद्धिमा टिकाउ हुनेमा भने शंका नै रहेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक ०.९८ प्रतिशत अर्थात २६.४४ अंकले बढेर २७१५.३५ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४.१० अंकले बढेर ५०६ दशमलव ५४ बिन्दुमा पुगेको छ ।
सोमबार कूल २२८ वटा कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रूपैयाँको कारोबार भएको थियो ।
स्टकका अनुसार आज कारोबारमा आएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर बढेको छ । विकास बैंक र फाइनान्सको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ भने ब्यापार, होटल, जलविद्युत, निर्जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र लगानी सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

सोमबार महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक ३५ करोड ४६ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ । एचआईडिसिएलको २८.६५ करोड, लुम्बिनी विकास बैंकको २३.७९ करोड, नबिल बैंकको १६.१५ करोड, ज्योति विकास बैंकको १३.९२ करोड, अपि पावर १३.२९ करोड, आईसिएफसि फाइनान्स १३.०२ करोड, ङादी ग्रुप पावरको १२.६८ करोड, अरुण भ्याली हाइड्रोपावर १२.५९ करोड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११.१८ करोडको शेयर खरीद बिक्री भएको छ ।
बोटलर्स नेपाल तराई र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर आज सकारात्मक सर्किट लागेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशत र मैलुङ्गखोला जलविद्युतको मूल्य ९.६१ प्रतिशतले बढेको छ ।
शिवश्री हाइड्रोपावर, घलेम्दी, छ्याङ्दी हाइड्रोपावर, सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर र युनियन लाइफ हाइ«ोपावरको मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसदिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरमूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले घटेर ४०९.५० रुपैयाँमा झरेको छ ।महालक्ष्मी विकास बैंकको मूल्य ४.४६ प्रतिशत घटेर ७५० मा आइपुगेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया