सातामा नेप्से ३ प्रतिशत बढ्दा मानुषी र तेह्रथुमका लगानीकर्ता मालामाल

0
Shares

शेयर बजार सूचक मापक नेप्से यस साता करिब तीन प्रतिशतले बढ्दा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कुस्त मुनाफा आर्जन गरेका छन् ।

अघिल्लो साताको तुलनामा यो साता मानुषी लघुवित्त र तेह्रथुम पावरको मूल्य ६१ प्रतिशतले बढेर क्रमशः १४९५.३० रुपैयाँ र ६४३.१० रुपैयाँ पुगेको छ । गत बिहीबार मानुषी लघुवित्तको मूल्य ९२८.७० र तेह्रथुम पावरको ३९९.५० रुपैयाँ रहेको थियो ।

यस साता शेयर बजारमा लगानी गरेर नाफा आर्जन भएका अन्य स्क्रिप्टहरुमा नेपाल टेलिकम (२७.९४ प्रतिशत), बोर्टलर्स नेपाल तराई (२२.३३ प्रतिशत), मैलुङ्गखोला जलविद्युत कम्पनी (२१.७८ प्रतिशत), पञ्चकन्या माई हाइड्रोपावर (२१.१० प्रतिशत) र जोशी हाइड्रोपावरको शेयरमूल्य २०.३२ प्रतिशत बढेको छ ।

यस्तै श्रीइन्भेष्ट फाइनान्सका लगानीकर्ताले १९.०२ प्रतिशत, अपर तामाकोशी १७.६८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले १५.७४ प्रतिशतका दरले नाफा आर्जन गरेका छन् ।  यो सातामा लक्ष्मी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १५.६० प्रतिशतले घटेर १५९१ रुपैयाँमा झरेको छ भने एचआईसिसिएल ८.८६, आरएसडिसी लघुवित्त ६.४०, र साहस उर्जाको शेयरमूल्य ६.०२ प्रतिशतका दरले घटेको छ । शिखर इन्स्योरेन्स संस्थापक, नेपाल लाइफ, समीट लघुवित्त, युनिलिभर नेपाल,, एनएलजी इन्सयोरेन्स र सानिमा लार्ज क्याप फण्डको मूल्य पनि साढे २ देखि पौने ४ प्रतिशतसम्म घटेको छ ।

नेप्से परिसूचक यो साता २.९३ प्रतिशत अर्थात ७८.८४ अंक बढेर २७६९.१३ बिन्दुमा पुगेको छ । गत साता २६९०.२९ बिन्दुमा बन्द भएको थियो । सातामा न्यूनतम २६६८.८२ अंकसम्म झरेको नेप्से अधिकतम २८२५.८९ बिन्दुसम्म पुग्दा नेप्सको उतारचढाव १५७ अंकमा भयो । पाँच कारोबार दिनमा ३ कारोबार बजार बढ्यो भने २ दिन घट्यो ।

यस साता महालक्ष्मी विकास बैंकको सबैभन्दा १ अर्ब ९५ करोड ९७ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ । कारोबार कित्ताका पनि महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै २६ लाख २ हजार ३७३ कित्ता शेयर कारोबार भयो । कारोबार संख्याका आधारमा साहस उर्जा लिमिटेडको सर्वाधिक ३० हजार ४८४ वटा संख्यामा कारोबार भएको छ ।

यो साता २२७ कम्पनीको ४ करोड ७९ लाख ७१ हजार कित्ता शेयर ३ लाख ३७ हजार ४७६ वटा कारोबारबाट २८ अर्ब ३८ लाख ३५ हजार रुपैयाँमा खरीद बिक्री भएको छ । सातामा दैनिक औषतमा ५ अर्ब ६० करोड रुपैयाँ ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । गत साता दैनिक औषतमा ५ अर्ब ३५ करोड ६० लाखको कारोबार भएको थियो । धितोपत्र बजार पूँजीकरण गत साताको तुलनामा १ खर्ब ११ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ९४ अर्ब ७२ लाख रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ उपसमूहमध्ये लगानी बाहेक १२ उपसमूहको परिसूचक बढेको छ । अन्य सर्वाधिक १६.२८ प्रतिशत बढ्दा फाइनान्स ७.०२, जलविद्युत ६.४१ प््रतिशत, होटल ५.२८ प्रतिशतले बढेको छ । लगानी सूचक २.१६ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ मंसिर २०७८, शनिबार  १६ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।