नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनः दुई जनामा पुष्टि

0
Shares

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नेपालमा पनि पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सह प्रवक्ता डा.समीर कुमार अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिए ।

एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।

मङ्सिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै नेपाल अाएका ६६ वर्षीय विदेशी नागरिक नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । उनले नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेका थिए । तर मंसिर ७ गते उनी र उनकाे सम्पर्कमा आएका एक ७१ वर्षिय व्यक्तिलाई कोभिड–१९ संग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । परिक्षणमा कोभिड–१९ पोजिटिभ आएपछि एस–जिनी परीक्षण गर्दा दुबै जनामा मंसिर १९ गते राति याँ भेरियन्टओम्रिकोन पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

दुबै जनामा गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ ।

कोभिड-१९ को भाइरसमा उत्परिवर्तित भेरियन्ट ओमिक्रोन हाे । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । हालसम्म विश्वका ३५ देशहरुमा फैलिसकेको यो भेरियन्टबाट ५७४ जना संक्रमित भैसकेका जानकारी छ ।

मन्त्रालयले जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागि हुन अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  १३ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।