सेयर बजारमा हरायो रौनक, नियामक रमिते बन्दा मारमा लगानीकर्ता

0
Shares

निरन्तरको गिरावटले सेयर बजारमा रौनकता नै हराएको छ । सेयर लगानीकर्ताको माग अर्थ मन्त्रालयदेखि नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डले नजरअन्दाज गर्दा बजारमा लगानीकर्ताको मनाबेल घट्न गई बजार वियरिस प्रवृत्तितिर जाने संकेत गरेको छ ।

लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा मौद्रिक नीतिपछि ओरालो लाग्न थालेको बजार परिसूचक हरेक साता घट्दो क्रममा छ ।

पूँजी बजारका नियामक निकायहरु नेपाल धितोपत्र बोर्ड र नेप्से दुबै अहिले नेतृत्व बिहीन रहेका छन् ।

बुक विल्डिङबाट सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरीद गरेपछि विवादमा आएसँगै बोर्ड अध्यक्षलाई सरकारले नै बर्खास्त गरेको हो भने नेप्से प्रमुखले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

सरकारमा संलग्न दलहरुबीच भागबण्डा मिल्न नसक्दा दुबै निकायमा प्रमुख नियुक्त हुन नसकेको हो । उता नेपाल राष्ट्र बैंकले धितोकर्जाको सीमा ४.१२ यथावत राख्दै नीतिमा कुनै परिवर्तन नपरेपछि लगानीकर्ता अहिले राष्ट्र बैंकप्रति रुष्ट छन् ।

पूँजी बजार विरोधीहरुका विरुद्ध लगानीकर्तारु संगठित भएर ‘पूँजी बजार विरोधीलाई नो भोट’ अभियान नै सञ्चालन गर्न थालेका छन् । वित्तीय प्रणालीमा बढेको तरलता संकटले पनि पूँजी बजारलाई नराम्ररी प्रभावित बनाएको छ । बैंकबाट ऋण पाउने अवस्था छैन भने लगानी घटेर लगानीकर्तामा तनावको पारो बढेको अवस्था छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.८४ अंक घटेर २४४९.९७ बिन्दुमा बन्द भएको छ । नेप्से ओरालो लागेपनि सेन्सेटिभ इण्डेक्स भने ०।४३ अंक बढेर ४६५.२३ अंकमा पुगेको छ ।

यस दिन २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर ४१ हजार ३८९ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँ पुगेको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ९ घटेको छ भने ४ वटा बढेको छ । होटल तथा पर्यटन, अन्य, लगानी र म्युचुअल फण्डको सूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.७६ प्रतिशत घटेको छ ।

हिमालयन डिष्टिलरीको उच्च कारोबार भएको छ । ८ करोड ८५ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री हुँदै कारोबार रकमका आधारमा कम्पनी शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी अपि पावर, नबिल बैंक र महालक्ष्मी विकास बैंकको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । नेशनल हाइड्रो, नेपाल टेलिकम, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, लुम्बिनी विकास बैंक र ङादी ग्रुप पावर शीष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।

सिनर्जी पावरको शेयरमूल्य सर्वाधिक ४.५५ प्रतिशतले बढेको बजारमा लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य पनि ४ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, सिंगटी हाइड्रो इनर्जी, बोटलर्स नेपाल र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । सानिमा इक्वीटी फण्ड, स्ट्याण्डर्ड चार्टर्ड, पाँचथर पावर र हिमालयन पावर पार्टनर पनि सेयरमूल्य बढ्ने दश कम्पनीको सूचीमा अटाएका छन् ।

उता लाभांश वितरण नगर्ने घोषणा गरेको सामूदायिक लघुवित्तको सेयरमूल्य बिहीबार पनि ५.८२ प्रतिशतले घटेको छ । बुधबार लाभांश वितरण नगर्ने सूचना दिएपछि कम्पनीको सेयरमूल्य ओरालो लाग्न थालेको थियो । कम्पनीको बिहीबार मात्रै प्रतिसेयर ६८ रुपैयाँले मूल्य घटेको छ ।

यसदिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ५.१४ प्रतिशत, एनआईसी एशिया लघुवित्त ४.११ प्रतिशत, घलेम्दी हाइड्रोको शेयरमूल्य ४.०२ प्रतिशतले घटेको छ । सबैको लघुवित्त, स्वाभिमान लघुवित्त, माउन्टेन इनजी नेपाल, महिला लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड २, र न्यादी हाइड्रोपावरको सेयरमूल्य पनि घटेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १६ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।