भन्सार कारोबार ‘डिजिटलाइज्ड’ गर्दै विभागः पुस १ गतेदेखि वीरगन्ज ड्राईपोर्टमा ‘पाइलटिङ्ग’

0
Shares

भन्सार विभागले सरकारको नीति तथा कार्यक्रम अनुसार प्रमुख भन्सार कार्यालयहरुमा तिर्नुपर्ने शुल्कलाई अनलाई प्रणालीबाटै भुक्तानी गर्न सकिने बनाउने भएको छ ।

हाल सेमी अनलाईन तथा नगद मार्फत हुँदै आएको भन्सार कारोबारलाई क्रमशः पूर्ण रुपमा डिजिटलाइज्ड गर्ने बाटोमा विभाग अगाडि बढेको हो ।

अगामी पुस १ गतेदेखि सचिव तथा विभागका महानिर्देशकको उपस्थितिमा वीरगन्ज ड्राईपोर्टमा पुस १ गतेदेखि नगद रहित कारोबारको (अनलाइन पेमेन्ट) शुभारम्भ गरिन लागिएको हो ।

भन्सार विभागका सूचना अधिकारी पुन्य बिक्रम खड्काले आगामी पुस १ गतेदेखि सुख्खा बन्दरगाहबाट नगद रहित कारोबार (अनलाइन पेमेन्ट) को परीक्षण सुरुवात गर्न लागिएको नोटबजारलाई जानकारी दिए ।

उनले भने, “विभागबाट आर्थिक क्रियाकलापमा आएका बैंकिङ्ग वा नन् बैंकिङ्ग सेक्टरहरुमा जुन जुन विधि प्रकृया तथा वित्तीय माध्यम आएका छन् त्यसलाई अगाडि बढाएर कसरी सबैले सर्वसुलभ रुपमा आफ्नो तिर्नुपर्ने राजश्व अनलाइन माध्यमबाट तिर्नसक्छन् भन्ने हिसाबल अहिले पहिलो चरणमा वीरगन्जको ड्राइपोर्टमा ट्रायल गर्दैछौं ।”

विभागका सूचना अधिकारी खड्काले पहिलो चरणमा यात्रुहरुको आवागमन नभएकाले वीरगन्जको ड्राइपोर्टबाट थालनी गरिने र महिना दिनको पाइलटिङ्ग सफल भएको खण्डमा आगामी माघमा अन्तर्राष्ट्रिय भन्सार दिवसका दिनदेखि अन्य भन्सार कार्यालयहरुमा पनि भन्सार कारोबारलाई डिजिटलाइन्ड गरिने प्रकृया अगाडि बढाउने तयारीमा विभाग रहेको बताए ।  पहिलो चरणमा सो स्थानमा मालवस्तुको जाँचपासमा इलोक्ट्रोनिक पेमेन्टको इम्प्याक्ट बुझेपछि सर्वसाधारणहरुले ब्यापार व्यवसायका गर्ने तथा सानातिना पोकापोकी बोकेर आउने भन्सार कार्यालयहरुमा अलम्बन गर्न सहयोग पुग्ने उनले बताए ।

पुस १ गतेदेखि भने रियल टाइममा नै आसिकुडा (सफ्टवेयर मार्फत भन्सार जाँचपासको व्यवस्था गर्न सकिने प्रणाली) मा जम्मा हुने गरी परीक्षण गरिन लागिएको हो । अहिले पनि बैंक टू बैंक ट्रान्सफर गर्ने व्यवस्था रहेपनि सँगसँगै नगदमा पनि शुल्क संकलन भैरहेको छ । अनलाईन प्रविधि मार्फत भन्सार राजश्व संकलन गर्ने यो व्यवस्थाले भन्सार शुल्क बुझाउनका लागि नै नगद बोकेर ल्याउने झण्झट हुनेछैन । हाल नगद मार्फत पनि कारोबार भैैरहेकाले केही रकमको जीपी चेक तथा केही नगद भुक्तानी गरिने हुँदा झण्झटसँगै जोखिम र समस्याहरु पनि रहेका छन् ।

पूर्ण अनलाई भुक्तानीमा जानका लागि रेभेन्यू म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (रिम्स सफ्टवेयर (जसले राजश्वको अनलाइन डेटा दिन्छ) मार्फत कार्य हुनेछ । अहिले आसिकुडाको डेटा हेरेर प्रत्येक भन्सार कार्यालयहरुले महालेखा फारम नम्बर उल्लेख गरेर अघिल्लो दिन कति रकम राजश्व असुली भयो त्यसलाई पैसाको मूल्यमा उतारेर रिर्पोट तयारी गरी नेपाल राष्ट्र बैंक भएर रिम्समा ट्रान्सफर गर्ने गरेका छन् ।

पूर्ण अनलाईनको थालनीपछि सरकारको हिसाब किताब राख्ने महालेखा नियन्त्रकको कार्यालय, अर्थ मन्त्रालय, भन्सार विभाग, आन्तरिक राजश्व विभाग र बैक समेत जस्ता राजश्व संकलनसँग जोडिने निकायहरु सबै एउटै सफ्टवेयर तथा पेमन्ट गेटवेमा समेटिनेछन् । यसरी एउटै पेमेन्ट गेटवेमा आबद्ध हुँदा रियल टाइममै राजश्व भुक्तानी भई सरकारको ट्रेजरीमा जम्मा हुन सक्छ ।

वीरगन्ज भन्सारबाट धेरैजसो वस्तु आयात गर्नेहरु काठमाण्डौं उपत्यकाका रहेकाले सिधै मोबाइल, इन्टरनेट बैंकिङ्गबाट भन्सार कार्यालयमा लगअन गरी भुक्तानीका लागि समेत सहयोग पुग्छ । यसले आयात तथा निर्यातमा रहेको मूल्य र लागत घटाउनका लागि प्रविधिको भरपुर उपयोग हुनेछ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ड्राईपोर्टमा पुसदेखि नै नगद रहित कारोबार थाल्ने तयारी गरिएपनि वीरगन्ज भन्सार कार्यालयमा भने धेरै कुराहरुको संयोजन गर्नुपर्ने रहेकाले केही समय लाग्ने बताए ।

माघ १ गतेदेखि अनलाइन् प्रविधिमा जानका लागि आफुहरु पूर्ण रुपमा तयार रहेको बताउँदै उनले भने, “अनलाईन प्रणालीमा जानका लागि धेरै कुराहरुको संयोजन गर्नुपर्ने अवस्था रहेकाले माघदेखि मात्र अनलाईन प्रविधिमा जाने तयारी छ । अनलाइनमा जानका लागि लगभग सबै पुर्वाधारहरु तयार भैसकेको छ । ”

भारत सरकारको सहयोगमा एकीकृत भन्सार जाँच चौकी स्थापनापछि पुर्वाधारको हिसाबले वीरगन्ज भन्सारमा मालवस्तु जाँचपासका लागि भने अन्य धेरै कुराहरुमा सहज भएको छ ।

आसिकुडा के हो ?

अर्थसम्बन्धी दक्षिण अफ्रिकी राष्ट्रहरूको संगठन (इकोवास) ले सन् १९८१ मा संयुक्तराष्ट्रय संघीय व्यापार तथा विकास सम्मेलन (अन्टाड्र्र) मा आसिकुडा सम्बन्धी प्रस्ताव राखेपछि भन्सार आधुनिकीकरण सम्बन्धी अन्तर्राष्ट्रिय बहस सुरु भएको थियो । अन्टाड्र्रको जेनेभामा भएको सम्मेलनपश्चात् सन् १९९७ देखि आसिकुडा कार्यान्वयनमा आएको थियो ।

अन्टाड्रको जेनेभा सम्मेलनले आसिकुडा सफ्टवेयर निर्माण गरेको थियो । युनिक्स र डसजस्ता कम्प्युटर अपरेटिङ सिस्टम एवं आरडिएमबिएस सफ्टवेयर मार्फत भन्सार जाँचपासको व्यवस्था गर्न सकिने प्रणालीलाई नै अन्टाड्र्रले आसिकुडाको रूपमा परिभाषित गरेको छ ।

अन्तर्राष्ट्रिय गुणस्तर संगठन आइएसो र विश्व भन्सार संघले आसिकुडाले मापदण्ड र संकेत निर्माण गरेका हुन्, जसलाई विश्व भन्सार संघका सदस्य भन्सारहरूले मान्यता दिएका छन् । नेपालको भन्सारलाई पनि अन्तर्राष्ट्रिय मापदण्डमा र्पुयाउन आसिकुडाको पूर्ण कार्यान्वयन हुनुपर्ने आवश्यकता औल्याउँदै आइएको छ ।

आयात निर्यातको समय र लागत घटाउनका लागि प्रविधि (आसिकुडा वल्र्ड) को उपयोग गरिएको छ । ब्यापार सहजीकरण भनेको बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन गरीब मुलुकको सामान्य उपभोक्ताले सबैभन्दा सस्तोमा उपभोग गर्न पाओस् भन्ने हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार  १९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।