मोफसलमा पूँजीबजार फस्टाएको हेर्ने चाहना छः मुख्यमन्त्री राई

0
Shares

प्रदेश नं. १ मा मुख्य मन्त्री राजेन्द्र राईले मोफसलमा पूँजीबजार फस्टाएको हेर्ने आफुहरुको पनि चाहना रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको प्रदेशस्तरीय पूँजी बजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकार पूँजी बजारको विकास र विस्तारका लागि सरकार सदैव तप्पर रहने उनले प्रतिबद्धता जाहेर गरेका हुन् ।

‘नेपालमा अहिलेको पूँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ,’ उनले भने, ‘त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्छ । कानुन बनाउनुपर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पु¥याउन सहयोग गर्छौं ।’

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राइले पुँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पूँजीबजारको विरुद्धमा सरकार नरहेको बताए ।

यसैगरी, कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पुँजीबजारको विस्तार विस्तार बृहत रुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यकता अनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए ।

‘सूचीकृत कम्पनीहरुमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु हुँदा राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महसुस हुन्छ । बजारमैत्री नीतिगत सहजीकरण गर्न बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ गिरीले भने । बोर्डले प्रदेशस्तरमा पूँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने जानकारी दिए । ‘प्रदेशमा बोर्डको आवश्कता महसुस गरिएको हो तर सो अनुसार काम गर्न कार्यसम्पादन विभाजन लगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं, तर, पहिलो चरणमा प्रदेश सरकारकै कार्यालयम बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ,’  उनले भने ।

गिरीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कमोडिटी मार्केट ल्याउन आवश्यक काम बोर्डले अघि बढाएको पनि जानकारी दिए । साथै, बजारमा चल्ने हल्लाको पछि र नीतिगत प्रभावमा नपरी कम्पनीको आधारभुत स्थितिको मूल्यांकन गरेर पूँजीबजारमा लगानी गरी आफ्नो लगानीको सुनिश्चिता आफैले गर्न उनले सुझाव दिए ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले यहाँ पूँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि सेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा मर्चेण्ट बैंकर्स एशोसिएसनका अध्यक्ष एवं एनआईबिएल एस क्यापिटलका डेपुटी सिइओ मेख बहादुर थापाले राजधानी केन्द्रित पूँजीबजार माफसलमा पनि उत्तिकै विकसित हुनु पर्नेमा जोड दिए । उनले पूँजी बजारमा लगानीका नयाँ नयाँ उपकरण भित्र्याएर लगानीकर्ताहरुको पहुँच बिस्तार गरिनु पर्ने बताए । मर्चेण्ट बैंकहरुले पूँजी बजारको विकासमा महत्वपुर्ण भूमिका खेलेको बताउँदै थापाले आगामी दिनमा विभिन्न प्रदेशमा यस्ता कार्यक्रालाई निरन्तरता दिँदै जाने बताएका थिए ।

कार्यक्रमका प्रदेश १ का निजी क्षेत्रका छाता संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो । जसमध्ये नेपाल चेम्बर अफ कमर्श प्रदेश १ का अध्यक्ष सुरेशमान श्रेष्ठले पूँजीबजारका लागि स्पष्ट नीति नियमन हुनपर्ने बताए । उनले मोफसलमा पूँजीबजारको आर्कषण बढिरहेको बताउँदै राजधानी बाहिर पूँजीबजारमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले तीनै तहको सरकारसँग समन्यव गर्नुपर्ने आवश्यकता औंलाएका थिए । नीतिगत अस्थीरताले लगानीकर्ताको लगानी जोखिममा परेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पूँजीबजारको सदुपयोग गर्न नसकेको बताए । राजधानी बाहिर पूँजीबजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकाय समेत निष्कृय रहेको उनको भनाइ छ । ग्रामिण अर्थतन्त्रलाई पूँजीबजारमा जोड्न सके संगठित रुपमा बजारको विकास हुने उनको विश्वास छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनास बोहराले अहिलेको पूँजीबजार काठमाडौं केन्द्रित भएको भन्दै प्रदेशगत संरचना अनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पूँजीको अभाव नभएको हुँदा यो प्रदेशले पूँजीबजारको विकासमा साथ दिनसक्ने उनको भनाइ छ ।

कार्यक्रमका मर्चेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट महासचिव पारसमणी ढकाल र ब्रोकर एशोसिएसनको महासचिव गुणनिधि भुसालले सेयर लगानीकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५० जनाभन्दा बढी लगानीकर्ता, प्राध्यापक, पत्रकार, बैंकर र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार प्रदेश नम्बर १ को राजधानी विराटनगरमा प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम आयोजना गरेको हो ।नेपाल मर्चेन्ट बैंकर्स एशोसिएनशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० पुस २०७८, शनिबार  १९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।