बैंकिङमा उत्साह छाउँदा सेयर बजारमा लगातार तेस्रो दिन पनि उच्च अंकको बढोत्तरी भएको छ । पछिल्ला दुई दिनमा ९२ अंकले सुधार भएको बजारमा मंगलबार थप ६३ अंकको बढोत्तरी भएको हो ।
सेयर बजारमा बैंकिङ्ग वित्तीय संस्था तथा बीमाको हिस्सा नै करिब ७० प्रतिशत रहेको छ । यो समुहको सूचकमा बढोत्तरी आउँदा नेप्से बढ्नुका साथै बजार वृद्धि समेत स्थीर बन्ने अनुमान गर्ने गरिन्छ ।
नेप्सेका अनुसार कारोबारमा आएका उत्पादन र अन्य बाहेक एघार उपसमुहगत सूचकमा हरियाली छाएको छ ।
मंगलबार विकास बैंकको सूचक सर्वाधिक ५ प्रतिशत धेरैले बढ्दा फाइनान्स ३.७१ बैंकिङ्ग ३.६१ लगानी ३.१४ प्रतिशत र जलविद्युत ३.११ प्रतिशतले बढेको हो ।
पहिलाे आधा घण्टामा दबाबमा रहेको नेप्से त्यसपछि लयमा फर्कदाँ अन्त्यसम्ममा ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १५.८५ अंकले बढ्दा ५०३.७२ अंकमा पुगेको छ ।
स्टकका अनुसार यसदिन २३४ कम्पनीका ९१ लाख १० हजार ७५८ कित्ता सेयर ५५ हजार ३७८ वटा कारोबारबाट ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंक, श्री इन्भेष्ट फाइनान्स, मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेर सेयरमूल्य बढेको छ । नेपाल एसबिआई बैंक, सिन्धु विकास बैंकको सेयरमूल्य ९ प्रतिशत धेरै बढ्दा ग्लोबल आईएमई बैंक, किसान लघुवित्त, मल्टिपपर्स फाइनान्स, फस्ट माइक्रोफाइनान्स र र सिटिजन्स बैंकको सेयरमूल्य ८ प्रतिशत बढीले बढेको छ ।
यसदिन एभरेष्ट इन्स्योरेन्स संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ७.५० प्रतिशतले घटेको छ । राष्ट्रिय बीमा कम्पनी संस्थाक ३.०९ र कृषि विकास बैंक ऋणपत्र २०८३ को मूल्य १.९६ प्रतिशतले घटेको छ ।

नबिल बैंकले किन्ने भएपछि यसदिन कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ३ लाख ६७ हजार २५८ कित्ता सेयर १४ करोड ७७ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको हो । बैंकको सेयरमूल्य ७.४० रुपैयाँ बढेर ४०५.४० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ । यस्तै नबिल बैंकको १३.०९ करोड, अपि पावरको ११.०७ करोड, हिमालयन डिष्टिलरीको १०.६० करोड र अपर तामाकोशीको १०.३८ करोडको सेयर कारोबारमा आएको छ ।
शिवम् सिमेन्टस्, गरिमा विकास बैंक, ज्योति विकास बैंक, अरुण भ्याली हाइड्रोपावर र सिद्धार्थ बैंकको शीर्ष दश ठूलो सेयर कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको सिद्धार्थ बैंकको ६.७७ करोडको सेयर खरीद बिक्री भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया