जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन गरेका १ लाख २२ हजार ४४३ वटा आवेदन रद्द भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आईपीओमा कुल २७ लाख ९ हजार ८५५ वटा आवेदन परेको थियो । जसमध्ये विभिन्न कारणले १ लाख २२ हजार ४४३ वटा आवेदन रद्द भएको छ ।
जसअन्तर्गत नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति लिएको बैंक तथा वित्तीय संस्थाबाट १ लाख १८ हजार १५३ वटा आवेदन रद्द भएको हो । यस्तै दोहोरो आवेदन गरेका ४ हजार २९० वटा आवेदन रद्द भएको हो ।

क्यापिटलका अनुसार सि आश्वा अनुमति प्राप्त बैंकबाट रद्द भएको १ लाख १८ हजार १५३ वटा आवेदनबाट २४ लाख ३० हजार ३२० कित्ता र दोहोरो आवेदन गरेका ४ हजार २९० वटा आवेदनबाट ५० हजार ६४० कित्ताको माग आवेदन परेको थियो । कुल रद्द भएका १ लाख २२ हजार ४४३ आवेदनबाट परेको २४ लाख ८० हजार ९६० कित्ताको माग रद्द गरिएको हो ।
बाँडफाँडका लागि योग्य भएका बाँकी २५ लाख ८७ हजार ४१२ वटा आवेदनबाट परेको ३ करोड ६ लाख ६६ हजार १९० कित्ता सेयरलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँडमा सहभागि गराइएको थियो ।
बाँडफाँडमा सेयर पाउन योग्य आवेदको १.८८ प्रतिशत अर्थात ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् । सेयर पाउन योग्य २५ लाख ३८ हजार ६२२ जना आवेदको हात खाली भएको छ । जुन सेयर पाउने योग्य संख्याको ९८.११ प्रतिशत हुन आउँछ ।
जाल्पा लघुवित्तको आईपीओ बाँडफाँड, ४८ हजार ७९० ले गोलाप्रथाबाट पाए १० कित्ता
कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरेको थियो । लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्ताबाट आवेदन मागिएको थियो ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया