नेपाल फाइनान्स लिमिटेडको चुक्ता पूँजीको ७० प्रतिशत बराबरको ३४ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद सेयरमा आवेदन दिन आज बिहीबार अन्तिम दिन रहेको छ ।
हकप्रदमा मेरोसेयरको मोबाइल एप सफ्टवेयर, वेवसाइट, तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका अलवा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ ।
फाइनान्स कम्पनीले विद्यमान सेयरधनीहरुले आवेदन दिन पाउनेगरी जेठ ६ गते शुक्रबारदेखि हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ७ कित्ता सेयर (१ बराबर ०.७०) अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद बिक्रीमा ल्याएको हो ।
हकप्रद जारी गर्न फाइनान्सले बैशाख २१ गते बुधबार सेयर दाखिल खारेजी (बुकक्लोज) गरेको थियो । बुकक्लोज अनुसार बैशाख २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले फाइनान्सको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
फाइनान्सको २८ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । विसं २०७७ कार्तिक १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति मागेको फाइनान्सले चैत ८ गते मंगलबार हकप्रद जारी गर्न अनुमति पाएको थियो ।
फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२८ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेपछि चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५३ रुपैयाँ पुग्नेछ । ललितपुर फाइनान्सलाई प्राप्ति पछि हाल नेपाल फाइनान्सको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रूपैयाँ छ ।
फाइनान्सले चालु आवको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै खुद नाफा वृद्धि गरेको छ । नेपाल फाइनान्सले गत चैतको तुलनामा सर्वाधिक ८१६ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । फाइनान्सले चैत मसान्तसम्म ३ करोड २० लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । २०७७ चैतमा फाइनान्सले जम्मा ३४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया