हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ निष्काशन गर्ने


काठमाडौँ । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि थप सर्वजनिक निष्काशन (एफपीओ) गर्ने भएको छ। बैंकले कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने प्रावधान बमोजिम बैंकले एफपीओ जारी गर्न लागेको हो ।

सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गर्न लागेको हो।

हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७।०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ।

सो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। बैंकको एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। एफपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  ०७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।