अर्थमन्त्रीले ६ स्टील उद्योगलाई काखी च्याप्दा २ दर्जन धरापमा- किरण साखः

0
Shares

साखः स्टिलका सञ्चालक किरण साखःले बजेट मार्फत अर्थमन्त्री जनार्दन शर्माले ६ वटा स्टील उद्योगलाई काखी च्यापेर २ दर्जन बढी उद्योगलाई धरापमा पारेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा साखःले सरकारले प्रोत्साहन गर्न खोजेका ६ स्टील उद्योगको नाम सार्वजनिक गर्दै बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी समेत दिए ।

सरकारले अम्बे, जगदम्बा, सर्वोत्तम, लक्ष्मी, नारायण र पशुपति स्टीललाई मात्र हित हुने व्यवस्था गरेर अन्य उद्योगलाई मारमा पार्ने काम गरेको उनको आरोप छ।

धेरै कमाएका उद्योगलाई थोरै भन्सार र अन्त शुल्क निःशुल्क गरेर देश नचल्ने भन्दै साखःले आक्रोस पोखे । उनले अब पनि माग सम्बोधन नभए पूराना पीडित उद्योगीहरु र अहिलेको नयाँ बजेटबाट पीडित बनेका नयाँ उद्योगीहरु मिलेर संयुक्त रुपमा आन्दोलनमा जाने चेतावनी दिए ।

पुरानो समस्या अझै पनि सरकारले सम्बोधन नगरेको भन्दै दुःखेसो पोखेका उनले प्रश्न गरे, “स्पोन्ज आइरनमा मात्र किन अन्त शुल्क बढाइयो ?” सरकारले उपभोक्ताहरुलाई सस्तो पर्ने भन्दै बढाएको अन्तशुल्कको विरोध गर्दै सरकारको उक्त नीतिले उपभोक्तालाई कुनै पनि हालतमा फाइदा नहुने उनको दाबी छ ।उनले भने, “सरकारले नेपाली उद्योगबाटै बिलेट दिन्छांै, तपाईहरु खरिद गरेर विक्री गर्नुस भन्छ । त्यस्तो गर्दा झन महंगो पर्ने र त्यो भार उद्योगीहरुले थेग्न नसक्ने अवस्था छ । के सरकारले भारतको मूल्यमा बिलेट दिन सक्छ ?”

अन्तर्राष्ट्रिय अभ्यास अनुसार तयारी मालमा अन्तशुल्क बढाउनुपर्ने आफूहरुको माग भएको उनले सुनाए । उनले भने, “तर सरकारले त्यो मान्न तयार भएन ।” भारतबाट ल्याइएका अन्य कम्पनीसँग सामान खरिद गर्दा निकै महंगो पर्ने र त्यसको असर उपभोक्तालाई नै बढी पर्ने उनले बताए ।

सरकारले उद्योगीहरुको माग सम्बोधन गर्ने विश्वास अझै रहेको भन्दै उनले भने, “आज नभए भोलि अनि यो सरकारले नभए अर्को सरकारले हाम्रो माग पुरा गर्नैपर्छ । हामीले जायज माग उठाएका छौं ।” सरकारले मनन गरेर उद्योगीहरुको माग सुन्नुपर्ने उनले बताए । सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने भन्दै गलत नीति तत्काल सच्याउनुपर्ने उनको भनाई छ ।

सरकारले पेस गरेको आर्थिक विधेयक २०७९ मार्फत फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आईरनको आयातमा भन्सार महशुल १ प्रतिशत मात्र कायम गरी अन्तःशुल्क पूर्ण छुट गरेको छ भने बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार विन्दुमै २ हजार ५ सय रुपैयाँ लाग्दै आएको अन्तःशुल्कलाई बढाउँदै ३ हजार ५ सय प्रतिमेट्रिकटन कायम गरेको छ ।

त्यस्तै एकै प्रकृतिका वायर उद्योगको कच्चा पदार्थ एमएस वायरमा साविक ५ प्रतिशत भन्सार महशुललाई वृद्धि गरी १० प्रतिशत पुर्याइएको छ भने भन्सार विन्दुमै लगाइँदै आएको २ हजार ५ सय प्रतिमेट्रिकटनको अन्तःशुल्कलाई समेत वृद्धि गरी ४ हजार ५ सय प्रतिमेट्रिकटन पुर्याइएको छ । 

सरकारको विभेदकारी नीतिले ८०% डन्डी उद्योगहरु मर्कामा, एकपक्षिय व्यवस्थाले औद्योगीकरणमा उल्टो असर …

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।