भारतीय अटोमोबाइल्समा कोरोना असर न्यूनः २०२१ मा ३० लाख गाडी बिक्री

0
Shares

विश्वमहामारी कोभिडका लहरहरुबाट अर्थतन्त्रमा प्रभाव परेपनि भारतीय अटोमोबाइल्स बजारमा भने त्यसको असर न्यून देखिएको छ ।

सन् २०२१ मा मात्रै भारतीय बजारमा ३० लाख बढी गाडीहरुको बिक्री भएको तथ्याङ्क छ । कोभिडका बीच पनि स्पोर्टस युटिलिटी भेइकल (एसयुभी) मोडलका कारहरु र अन्य नयाँ मोडलका कारहरुको माग भारतीय बजारमा बढ्दो छ ।

सन् २०२० मा २४ लाख गाडीहरु बिक्री भएको भारतीय बजारमा २०२१ मा ६ लाख बढेर ३० लाख गाडीहरुको बिक्री भएको हो । अघिल्लो वर्षको तुलनामा सन् २०२१ मा करिब २७ प्रतिशतले कारहरुको बिक्री बढको हो ।

बढी कारहरु बिक्री हुने वर्षहरुमा सन् २०२१ तेस्रो वर्ष हो । यो वर्ष भारतीय बजारमा ३० लाख बढी कारहरु बिक्री भएका छन् । यस अघि २०१८ मा सबैभन्दा धेरै ३३ लाख कारहरु बिक्री भएका थिए ।

सन् २०२१ मा मारुती सुजुकीले कुल बिक्री सङ्ख्यामध्ये १३ लाख गाडीहरु बिक्री गरेको छ । जुन अघिल्लो वर्ष २०२० को तुलनामा १ लाख बढी हो । यस अघि सन् २०२० मा मारुती सुजुकीले १२ लाख गाडीहरु बिक्री गरेको थियो ।

त्यसैगरी सन् २०२१ मा हुन्डाई मोटर्सले ५ लाख क्रेटा र तथा १ लाख बढी भेन्यू कारहरु बिक्री गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसका नयाँ भेरियन्टहरु भारतमा अहिले पनि फैलिरहेका छन् । तथापी सन् २०२१ को सुरुवाती चरणमा डेल्टा भेरियन्टले ग्रसित भएको भारतका अटोमोबाइल कम्पनीहरुमा भने भाइरसको असर सन् २०२० को तुलनामा नगन्य देखिएको हो ।

कोरोना भाइरस महामारीको कारण विश्वव्यापी रुपमा सेमिकन्डक्टरको आपूर्तिमा उल्लेखनीय रुपमा कमी आएको थियो । तथापि सेमिकन्डक्टर र कच्चा पदार्थको अभावका बीच पनि अटोमोबाइल कम्पनीहरुले घाटा न्यूनीकरण गरिरहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ पुस २०७८, आइतबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।