साताको तेस्रो कारोबार दिन नेप्से सूचक ६३ अंकले बढ्दा सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति एकैदिन ८९ अर्ब ८२ लाख रुपैयाँले बढेको छ ।
अघिल्लाे दिन सोमबार कुल बजार पूँजीकरण ३६ खर्ब ९६ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ रहेकोमा मंगलबार ८९ अर्बले बढेर ३७ खर्ब ८५ अर्ब ५९ करोड २१ लख रुपैयाँ पुगेको हो । मंगलबार मात्र सेयर बजार सूचक नेप्से ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ ।
बजार पूँजीकरणको हिसाबले मंगलबार नबिल बैंक सबैभन्दा धेरै २ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ भने दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको १ खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनीको १ खर्ब ३३ अर्ब ९७ करोड, नेपाल लाइफको १ खर्ब ११ अर्ब २३ करोड र नागरिक लगानी कोषको १ खर्ब ८ करोड ८९ करोड बराबरको बजार पूँजीकरण रहेको छ ।
लामो समय घटेको सेयर बजारमा अंग्रजी नयाँ वर्षपछिको तीन दिनमा १५५ अंकको वृद्धि भैसकेको छ । नेप्से नयाँ उचाईमा पुग्दै जाँदा बजार पूँजीकरण पनि क्रमश ठूलो हुँदै गइरहेको हो । गत भदौ २ गते नेप्से ३ हजार १९८ बिन्दुमा हुँदा कुल बजार पूँजीकरण करिब ४४ खर्ब रुपैयाँसम्म पुगेको रेकर्ड थियो ।
मंगलबार विकास बैंक, फाइनान्स, बैंकिङ सेक्टरमा बहार छाएसँगै धितोपत्रको कुल बजार पूँजीकरणमा पनि उच्च बढोत्तरी भएको हो । बजार पूँजीकरण कम्पनीको शेयर र अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा एकाध बाहेक पब्लिकको मात्र हुने गरेको छ । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।
शेयर मूल्यमा भएको वृद्धिका कारण गएको लगानीकर्ताको सम्पत्तिमा बढोत्तरी आए पनि त्यो नाफा भने होइन । नाफा हुन लगानीकर्ताले शेयर बिक्री गरी नगद नै हात पार्नुपर्छ । यस कारण किताबी (लेखांकन) रूपमा मात्र लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको हो ।
नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया