सेयर परिसूचक सूचक मापक नेप्से यो साता १६७.९७ अंक अर्थात ६.६५ प्रतिशतले बढेको छ । गत साता २५२४.५० बिन्दुमा बन्द भएको नेप्से बढेर २६९२.४७ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इण्डेक्स यो साता ७.४१ प्रतिशत (३४.९२ अंक) बढेर ५०६.१६ बिन्दुमा उक्लिएको छ ।
यस साता पाँच दिनको कारोबारमा चार दिन बजार बढेको छ भने एक दिन घटेको छ । खुलेको ५ कारोबार दिनको बजार मध्ये ४ कारोबार दिन उकालो लागेसँगै कुल बजार पूँजीकरण २ खर्बभन्दा बढीले वृद्धि भएको छ भने यो साता बजारमा २१ अर्बभन्दा बढीको सेयर किनबेच भएको छ ।
यो साता पाँच दिनमा २१ अर्ब २७ करोड ८७ लाख १२ हजार बराबरको ४ करोड १३ लाख ७२ हजार ५५६ कित्ता सेयर किनबेच भएको छ । बजार सकारात्मक बनेपनि दैनिक औषत कारोबार रकम भने घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ३८ करोडको सेयर कारोबार भएकोमा यो साता ४ अर्ब २५ करोडको मात्र कारोबार भएको हो । गत साता चार दिनमा १७ अर्ब ५२ करोड ९६ लाख ९६ हजार बराबरको ३ करोड ३ लाख ६१ हजार २४४ कित्ता शेयर खरीद बिक्री भएको थियो । गत साताको तुलनामा औषत कारोबार संख्या र औषत सेयर संख्या भने बढेको छ ।
आइतबार नेप्से ६०.४१ अंक, दोस्रो दिन ३२.०३, तेस्रो दिन ६३.०१ ऋंक र पाँचौं दिन ४३.२९ अंकले बढेका हो । चौथो दिन भने नेप्से परिसूचकमा ३०.७७ अंकको करेक्सन भएको थियो । चौथो दिनको करेक्सनपछि पाँचौ दिन पुनः नेप्से बढेको हो ।
गत भदौमा ३ हजार २०० बिन्दुमाथि पुगेर नेपालको धितोपत्र बजारको इतिहासमै ठूलो रेकर्ड कायम भएको नेप्से मंसिर २९ गते २२५९.५१ बिन्दुसम्म झरेको थियो । सूचीकृत कम्पनीहरुको लाभांश र बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम जुट्दै जाँदा बजारमा सकारात्मक प्रभाव परेको हो ।
यो साता कुल बजार पूँजीकरण पनि गत साताभन्दा ६.६२ प्रतिशत अर्थात २ खर्ब ३५ अर्ब ९९ करोड ८१ लाख रुपैयाँले बढेको छ । गत साता ३५ खर्ब ६७ अर्ब ३४ करोड ८० लाख रहेको कुल बजार पूँजीकरण यो साता बढेर ३८ खर्ब ३ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ कायम भएको छ ।
यो साता १३ वटै उपसमूहगत परिसूचक बढेको छ । गत साताभन्दा विकास बैंक समूहको परिसूचक सर्वाधिक १०.८७ प्रतिशतले बढेको छ । विकास बैंकको सूचक ४५९.१४ अंक बढेर ४६८४.२२ बिन्दुमा पुगेको हो । त्यस्तै यो साता जलविद्युत ८.३७ प्रतिशत, वित्त ७.९२ प्रतिशत, लगानी ७.७३ प्रतिशत, बैंकिङ्ग ७.६५ प्रतिशत, व्यापार ७.१६ प्रतिशत, लघुवित्त ६.५४ प्रतिशत, होटल्स तथा पर्यटन ५.६५ प्रतिशत, जीवन बीमा ४.६२ प्रतिशत, निर्जीवन बीमा ४.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन ३.५५ प्रतिशत, अन्य ३.०१ प्रतिशत, र म्युचुअल फण्ड सबैभन्दा कम २.२१ प्रतिशतले बढेको छ ।
मध्य भोटेकोशीका लगानीकर्ताले कमाउँदा छ्याङ्दीकाले सर्वाधिक गुमाए
यो साता मध्य भोटेकोशीका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
सातामा मध्य भोटेकोशीको सेयरमूल्य ६०.९३ प्रतिशत (८९.२०) रुपैयाँ बढेर २३५ रुपैयाँ पुगेको छ भने छ्याङ्दीको ११.११ प्रतिशत अर्थात ५२.२० रुपैयाँ घटेर ४१७.८० रुपैयाँमा झरेको छ ।
यो साता फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले २३.२९ प्रतिशत, तेह्रथु पावरकाले १९.०१,आरएसडिसी १७.५६, सप्तकोशी डेभलपमेन्ट १७.३४, राष्ट्रिय बीमा कम्पनी संस्थापक १७.१४, ज्योति लाइफ १६.६७ प्रतिशत, लुम्बिनी विकास बैंक १५.७६, स्वरोजगार लघुवित्त १५.७६ र किसान लघुवित्तका सेयर लगानीकर्ताले १५.५७ प्रतिशतका दरले नाफा कमाएका छन् ।
उता मिथिला लघुवित्तको ९.५३ प्रतिशत, मिर्मिरे लघुवित्त ९.३३, कालीका पावर ७, गोर्खाज फाइनान्स ६.९३, जनउत्थान लघुवित्त ५.७५, नेपाल बंगलादेश बैंक डिबेञ्चर २०८५ ५.४५, प्राइम बैंक संस्थापक १.९१, कालीका लघुवित्त १.७० र नबिल ब्यालेन्स्ड फण्ड २ को इकाईमूल्य १.५० प्रतिशतले घटेको छ ।
फ्लोरसिट विश्लेषणका आधारमा यस साता हिमालयन डिष्टिलरीको सर्वाधिक १ अर्ब २ करोड ९१ लख रुपैयाँको सेयर खरीद बिक्री भएको छ । कारोबार संख्याका आधारमा नबिल बैंकको सबैभन्दा धेरै ११ हजार ९९० वटा कारोबार हुँदा अपि पावरको सबैभन्दा धेरै १६ लाख ९१ हजार १२४ कित्ता सेयर खरीद बिक्री भएको छ ।










प्रतिक्रिया