आइतबार गणपुरक संख्या नपुगेपछि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) को २० औं वार्षिक साधारण सभा माघ ३ गतेका लागि बोलाइएको छ ।
सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाण्डौंमा बिहान १० बजे डाकिएको छ ।
सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते एकदिन बुकक्लोज गरेको थियो । बुकक्लोज मिति अनुसार पुस १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको निर्वाचन कार्यक्रम भने स्थगित भएको छ । बैंकका सेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले निर्वाचन कार्यक्रम स्थगित गर्न उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा अदालतबाट विपक्षीहरुका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको बैंकले जनाएको छ ।











प्रतिक्रिया