मंगलबार हाफ सेञ्चुरी बढ्यो नेप्से, आठ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

सेयर बजार मापक सूचक नेप्से मंगलबार हाफ सेञ्चुरी अर्थात ५० अंकले बढेको छ ।

राष्ट्र बैंकको सेयर धितोमा लागू भएको ४।१२ करोडको सीमाको प्रभाव न्यून हुँदै बैकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि त्यसको सकारात्मक असर धितोपत्र बजारमा परिरहेको हो ।

पछिल्लो साता मात्रै बैंकिङ्ग प्रणालीमा ५९ अर्ब रुपैयाँ भित्रिएर बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको सीमाभन्दा तल झर्दा सेयर बजारमा निरन्तर वृद्धि देखिएको छ ।

अर्कोतर्फ कोभिड संक्रमणका बेला अरु उद्योग व्यवसाय प्रभावित हुँदा लगानीकर्ता सेयरमा आकर्षित हुने गर्दछन् । बढ्दो कोभिड संक्रमणका बिरामीका कारण सेयर बजार लगातार उकालो लाग्न थालेको हो । पछिल्लो २४ घण्टामा देशभर २४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १५ हजार ३३ जनामा परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण देखिएको हो। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ९ हजार ५२२ रहेको छ ।

बैंकिङ प्रणालीमा पहिलो पटक सातामा ५९ अर्ब निक्षेप थपियो

मंगलबार नेप्से १.७७ प्रतिशत अर्थात ४९.१५ अंकले बढेर २८३४.१३ बिन्दुमा परेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स १.२१ प्रतिशत अर्थात ६.३४ प्रतिशत अंकले बढेर ५२८.८८ बिन्दुमा पुगेको छ ।

मंगलबार पनि सेयर बजार बढेपछि लगानीकर्ता थप उत्साहित भएका छन् । पछिल्लो तीन दिनमा नेप्से १४१ अंकले बढेको छ । आइतबार ७३, सोमबार १९ र मंगलबार ४९ अंकले बढेको हो ।

यसदिन कूल २३२ वटा कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर ७७ हजार १५ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रूपैयाँ ५१ पैसा पुगेको नेप्सेले जनाएको छ ।

आजको बजारमा लगानीकर्ताको आकर्षणको केन्द्रमा फाइनान्स कम्पनीहरू रहेका छन् । मंगलबार फाइनान्स उपसमूहगत सूचक सबैभन्दा धेरै ६.१५ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधनमुल सूचक ०.४३ प्रतिशतले घटेको छ भने कारोबारमा आएका १३ सबै उपसमुहगत सूचकमा वृद्धि देखिएको छ । लघुवित्त ३.९९० प्रतिशत, जीवन बीमा ३.८९ प्रतिशत, विकास बैंक ३.४४ प्रतिशत, होटल ३.३९ प्रतिशत, निर्जीवन बीमा २.६५ प्रतिशत, जलविद्युत २.०७ प्रतिशत, अन्य १.४४ प्रतिशतले बढेको छ ।

मंगलबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक १६ करोड ८३ लाख २२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । गोर्खाज फाइनान्सको १६.२६ करोड, नेपाल लाइफको १५.६४ प्रतिशत, नेपाल टेलिकम १३.८२ प्रतिशत र नेपाल रि इन्सयोरेन्सको ११.५९ करोडको सेयर कारोबार भएको छ ।

यसदिन ८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशत तथा सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको पनि ९ प्रतिशत बढीले सेयरमूल्य बढेको छ ।

उता यस दिन माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ३.५२ प्रतिशतले घटेको छ । कम्पनीको सेयरमूल्य ११७७ रूपैयाँमा झरेको छ । नेपाल एसबिआई, शिवम् सिमेन्टस्, एनएमबि ५० र रुरु जलविद्युत कम्पनीको पनि १ प्रतिशत बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ पुस २०७८, मंगलबार  १६ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।