
सिभिल बैंक लिमिटेड (CIVIL) को चुक्ता पूँजी ९ अर्ब नाघेको छ । शुक्रबार सम्पन्न एघारौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर पारित गरेसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ पुगेको हो ।
पुस ३० गते शुक्रबार सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४७ रुपैयाँको ५ प्रतिशत बराबरको ४३ करोड २१ लाख ८३ हजार ४२ रुपैयाँ बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत अर्थात २ करोड २७ लाख ४६ हजार ४७६ रुपैयाँ नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।
साधारण सभाले सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
साथै सभाले आ.व. २०७८/७९ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरिक्षकमा पुनः नियुक्त गरेको छ । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८७ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ९१ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया