मंगलबार नेपालमा अहिले सम्मकै सबैभन्दा बढी कोभिड संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरस संक्रमण सुरु भएपछिको पहिलो र दोस्रो लहरभन्दा बढी संक्रमित मंगलबार भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १० हजार २५८ जनामा संक्रमणको पुष्टि भएको छ । २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । पीसिआर परीक्षणबाट ८ हजार ७३० र एन्टिजेन परीक्षणबाट १ हजार ५२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि २०७८ बैशाख २८ गते सबैभन्दा बढी ९ हजार ३१७ जना संक्रमित फेला परेका थियो । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छन् भने ५६२ जना संक्रमणबाट मुक्त भएका छन् ।
उपत्यकामा मात्रै ५४ प्रतिशत संक्रमित
मन्त्रालयका अनुसार काठमाण्डौं उपत्यकामा कुल संक्रमितकको आधा भन्दा बढी संक्रमित भएका छन् । कुल १० हजार २५८ संक्रमितमध्ये ५ हजार ५४९ संक्रमित उपत्यकामा भेटिनुले उपत्यका कोरोनाको हटस्पट बन्ने जोखिम बढेको छ ।
उपत्यकाका काठमाडौंमा ४ हजार ४ जनामा, ललितपुरमा ९७५ जनामा र भक्तपुरमा ५७० सहित ५ हजार ५४९ संक्रमित पाइएका हुन् । उपत्यकाका तीन जिल्लामा पुष्टि भएको संख्या प्रतिशतका हिसाबले ५४.०९ प्रतिशत हुन आउँछ ।
सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना नहुनु तथा कोभिडलाई हस्का रुपमा लिँदा जोखिम बढ्नसक्ने जानकारहरु बताउँछन् । मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी पालना र स्वास्थ्य प्रोटोकलको पूर्ण पालना नगरे स्थिति भयावह हुनसक्ने उनीहरुको भनाई छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया