सडक दुर्घटना न्यूनीकरणका लागि कारहरुमा ६ वटा एयरब्याग राख्नुपर्ने

0
Shares

भारतीय सडक तथा यातायात मन्त्रालयले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कारहरुमा ६ वटा एयर ब्याग अनिवार्य रुपमा राख्नुपर्ने नियम अघि सारेको छ ।

यसै हप्ता ड्राफ्ट गरिएको उक्त नियम सन् २०२२ अक्टोबर १ बाट लागू हुनेछ । ड्राफ्ट गरिएको उक्त नियम अनुसार आठ जना यात्रु सवार गाडीमा ६ वटा एयरब्याग राख्नु पर्नेछ ।

अक्टोबर १ देखि निर्माण हुने सवारी साधनको फ्रन्ट सीटमा बस्नेको सुरक्षा निमित्त दुई वटा एयरब्याग यात्रुको छेउमा हुनुपर्ने र पछाडिका सीटमा बस्नेहरुको सुरक्षाका लागि प्रत्येक यात्रुलाई एक–एक एयरब्याग राखेर निर्माण गर्नुपर्ने छ ।

भारत सरकारले एयरब्याग राख्नुपर्ने फैसला गरेसँगै यस नियमले कारको लागत खर्चमा वृद्धि हुन गई कारको मूल्य बढ्ने निर्माताहरुको भनाइ रहेको छ । प्रति एयर ब्याग पाँच देखि दश हजार सम्म पर्छ । अतः एउटा कारमा ६ वटा एयरब्याग राख्नुपर्ने भएसँगै कारको मूल्य ३० हजार देखि ५० हजारसम्मले बढ्ने छ ।

यसका साथ साथै यात्रुको सुरक्षाका खातिर अपनाइएको यो नियम कार्यान्वयनमा आउनु अघि बनेका कारहरुमा यस्तो व्यवस्था छैन । यो व्यवस्था अनुरुप काम गर्न कारको इन्टेरियर डिजाइन नै परिवर्तन गर्नु पर्ने हुन्छ जस कारण पनि कारको मूल्यमा वृद्धि हुनेछ ।

हालको अवस्थामा १० लाख भारु भन्दा कम मूल्य भएका गाडीहरुमा दुईवटा एयरब्याग राख्ने गरेको पाइएको छ । प्रसिद्ध अटोमेकर कम्पनी मारुती सुजुकी, रेनल्ट र निशान कम्पनीका सबै प्रकारका कारहरुमा दुई वटा मात्रै एयरब्याग राखिएको छ ।

सन् २०२० मा भारतमा १ लाख १६ हजार सडक दुर्घटना भएको तथ्यांङ्कले जनाएको छ भने करिब ४८ हजार मानिसहरुको मृत्यु भएको थियो । सडक दुर्घटनाका केसहरु बढ्दै गएको र उक्त सङ्ख्यालाई न्यूनीकरण गर्न यो नियम अवलम्बन गरेको कुरा सडक तथा यातायातमन्त्री नितिन गड्करीले आफ्नो ट्वीटरमा ट्वीट गरी बताएका छन् ।

सवारी साधन आयातनिर्यातमा नेपाल भारतमा परनिर्भर भएको कारणले गर्दा उक्त नियमको असर नेपालमा पनि गर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७८, बुधबार  १३ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।