मंगलबार र बुधबारको प्रोफिट बुकिङपछि बिहीबार पुनः सेयर बजारमा रौनकता छाएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १.१४ प्रतिशत अर्थात ३३.०३ अंकले बढेर २९३१.३४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ अंकले बढेर ५४३.७४ बिन्दुमा पुगेको छ ।
कोभिडको तेस्रो लहर ओमिक्रोनको तीव्र फैलावटका कारण लगानीका क्षेत्र संकुचित हुने, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा थपिएको तरलता र राजनैतिक वृत्तमा चुनावमा जाने विषयमा छलफल चलिरहेकाले पनि सेयर बजारमा लगानीकर्ताको लगानी बढ्न थाल्दा बजारमा सकारात्मक माहोल सिर्जना भएको हो ।
यसदिन कूल २२९ वटा कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता सेयर ७५ हजार५८२ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ रूपैयाँमा समेटिएको छ । बुधबार ६ अर्ब २ करोडको सेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम अघिल्लो दिनको तुलनामा २५ करोडले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये बैंकिङ्ग र म्युचुअल फण्ड बाहेक बााँकी ११ उपसमुहगत सूचकमा हरियाली छाएको छ । विकास बैंक सर्वाधिक ३.३६ प्रतिशतले बढदा फाइनान्स ३.०४, जीवन बीमा २.८६, जलविद्युत २.२३, निर्जीवन बीमा २.०६ प्रतिशत, लघुवित्त १.०८ प्रतिशतले बढेको छ । उता म्युचुअल फण्ड ०.१४ र बैंकिङ्ग ०.०५ प्रतिशतले घटेको छ ।
धितोपत्र बोर्डले बुधबार चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद बिक्रीको अनुमति दिएपछि बिहीबार आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको २२ करोड २० लाख ५३ हजार रूपैयाँको कारोबार भएको हो । यस्तै अपि पावर १८.७४ करोड, शिखर इन्स्योरेन्स १७.६७ करोड, अरुण भ्याली हाइड्रोपावर १६.११ करोड र नेपाल टेलिकमको १५.६७ करोडको सेयर कारोबारमा आएको छ ।
बिहीबार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मैलुङ खोलाको सेयरमूल्य १० प्रतिशतले बढेर ५५० रूपैयाँ पुग्दा तेह्रथुम पावरको पनि १० प्रतिशतले बढेर ६३५.८० रूपैयाँ पुगेको छ ।
यस्तै बुद्धभूमी नेपाल हाइड्रोपावर ९.९७ प्रतिशत, न्यादी हाइड्रोपावर ८.८६, गुराँस लाइफ ७.७९, युनियन हाइड्रोपावर ७.२४, कर्पोरेट डेभलपमेन्ट बैंक ६.९१, सिन्धु विकास बैंक ६.२४, गणपति लघुवित्त ६.०८ र स्वाभिमान लघुवित्तको ६.०६ प्रतिशतले सेयरको भाउ बढेको छ ।

उता बिहीबारको बजारबाट १२ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । डिबेञ्चरको मूल्य ४.३९ प्रतिशतले घटेर प्रतिकित्ता १०९० रूपैयाँमा झरेको छ । बोटलर्स नेपाल तराई, एनएमबि हाइब्रिड फण्ड, नयाँ सारथी लघुवित्त र सिटिजन्स म्युचुअल फण्डको सेयरमूल्य साढे १ प्रतिशतदेखि १.८४ प्रतिशतसम्म घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया