नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साढे पाँच महिनापछि पाँच कम्पनीलाई सवा एक अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।
बोर्ड अध्यक्ष पद खाली भएको करिब ५ महिनासम्म कुनैपनि कम्पनीले कम्पनीले आईपीओ अनुमति पाउन सकेका थिएनन् ।
धित्रोपत्र बोर्डले गत साउन १४ गते सामलिङ्ग पावरलाई सेयर जारी गर्न अनुमति दिएयता बोर्डले बुधबार पाँच कम्पनीलाई आईपीओ अनुमति दिएको हो ।
बोर्ड सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले एकै पटक पाँच कम्पनीलाई १ अर्ब २१ करोड ६ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ६ हजार ६९० कित्ता सेयर बिक्रीका लागि अनुमति दिने निर्णय गरेको छ ।
बोर्डबाट आईपीओ बिक्रीको अनुमति पाउने कम्पनीहरुमा ग्रीन भेञ्चर लिमिटेड र बलेफी हाइड्रोपावर कम्पनी गरी दुई जलविद्युत कम्पनी तथा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो लघुवित्त समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड गरी तीन लघुवित्त कम्पनी रहेका छन् ।
ग्रीन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँको बराबरको ६२ लाख ५० हजार कित्ता, बलेफी हाइड्रोपावर कम्पनीको ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।
यस्तै राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता, नेष्डो लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र जल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर बिक्रीका लागि बोडबाट अनुमति पाएकाे छ ।
सबैजसो कम्पनीले सर्वसाधारणका लागि र केहीले स्थानीय सहित सर्वसाधारणका लागि सेयर जारी गर्न बाेडसँग मागेका थिए ।
बोर्डले एकैपटक पाँच कम्पनीलाई अनुमति दिएसँगै साढे पाँच महिनायता रिक्त रहेको प्राथमिक बजारमा सेयरको आपूर्ति बढ्ने भएको छ । करिब आधा वर्ष सेयर भर्न नपाएका लगानीकर्तालाई यसले उत्साहित बनाएको छ भने कम्पनीहरुलाई पूँजी निर्माणको बाटो समेत खुलेको छ । लामो समयसम्म आईपीओ अनुमति नपाउँदा कम्पनीहरुको व्यावसायिक योजना नै लथालिङ्ग बनेको थियो ।
धितोपत्र बोर्ड नेतृत्व विहीन हुँदा ३१ कम्पनीको साढे आठ अर्बको आईपीओ अनुमति रोकियो
सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको अभियोगमा सरकारले गत भदौ दोस्रो साता तत्कालीन धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई दोषी ठहर गर्दै बर्खास्त गरेको थियो ।
अर्थमन्त्रालयले बोर्डका कार्यकारी निर्देशक निरज गिरीलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएपनि उनलाई आईपीओ बिक्रीको अनुमति थिएन । यसबीचमा बोर्ड सञ्चालक समितिको बैठकले केही कम्पनीलाई हकप्रद र ऋणपत्र जारी गर्न भने स्वीकृति दिएको थियो ।
बोर्ड सञ्चालक समितिको गत सातको बैठकले आईपीओ अनुमतिको जिम्मेवारी अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका सहसचिव शोभाकान्त पौडेललाई दिने निर्णय गरेसँगै पाँच कम्पनीले सेयर निष्कासनको अनुमति पाएका हुन् । बोर्डबाट अनुमति पाएको २ महिनाभित्र ती कम्पनीहरुले सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
अझै २६ कम्पनीको ७ अर्ब २९ करोड ८१ लाख १६ हजार ४०० रुपैयाँ मूल्यको ६ करोड ६२ लाख ६१ हजार १९४ कित्ता सेयर बिक्रीका लागि धितोपत्रको बोर्डको अनुमतिको पर्खाइ (पाइपलाइन) मा रहेका छन् । जसमध्ये २५ कम्पनीले अंकित मूल्यमा सेयर बिक्री गर्न लागेका हुन् भने रिलायबल लाइफ इन्स्योरेन्सले भने ११२ रुपैयाँ प्रिमियम मूल्यमा सेयर बिक्रीको अनुमति मागेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया