राजनैतिक अस्थीरताको संकेतले सेयर बजारमा ४० अंकको गिरावट

0
Shares

अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयलाई लिएर सत्तारुढ पाँचदलीय गठबन्धन नै धरासायी हुने संकेतले मुलुको सेयर बजारमा प्रत्यक्ष असर परेको छ ।

एमसीसीकै कारण देश फेरि राजनैतिक अस्थीरतातर्फ जाने संकेतले आइतबार सेयर बजार ४०.५७ अंकले घटेर २८३६.१७ बिन्दुमा झरेको छ । कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक भएपछि बजारमा भारी गिरावट आएको हो । बजार सुरु भएदेखि नै घट्न थालेको बजारमा बिक्री चाप अधिक रहँदा त्यसपछि निरन्तर घटेर नै बन्द भएको हो ।

मिडियामा आइतबार बिहानै प्रधानमन्त्री सेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक र सोही पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पठाएको जवाफी पत्र सार्वजनिक भएपछि सत्तारुढ दलहरुको गठबन्धक भत्कने अवस्थामा पुगेको छ ।

दलहरुले मागेको समय घर्किन लागेको स्मरण गराइएको पत्रले जसरी पनि एमसीसी अनुमोदन गर्नुपर्ने दबाबमा रहेको प्रधानमन्त्री देउवा र विद्यमान व्यवस्थामा संसोधन नभई पारित गर्न नहुने पक्षमा सत्तारुढ दल एकीकृत समाजवादी र माओवादी केन्द्रको अडानले राजनैतिक वृत्तसँगै आइतबारको सेयर बजार पनि प्रभावित भएको हो ।

आइतबार २२८ कम्पनीका १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर सेयर ७३ हजार १९२ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.७३ अङ्कले घटेर ५३१.९२ मा ओर्लेको छ ।साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब आठ अर्ब ५५ करोड ७२ लाख ९० हजार रूपैयाँ छ ।

तेह्र वटै उपसमुहगत सूचक घटेकोमा सबैभन्दा धेरै बजार पूँजीरकण रहेको नेपाल लाइफलको लाभांश उच्च घट्दा जीवन बीमाको सूचक पनि सर्वाधिक ३.५७ प्रतिशतले घटेको छ । यस्तै फाइनान्स सर्वाधिक २.४१ प्रतिशत तथा बैंकिङ्ग, ब्यापार, विकास बैंक, जलविद्युत, अन्य, लघुवित्त र लगानी सूचक समेत १प्रतिशत धेरैले घटेको छ ।

यसदिन कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९ लाख ८६३ कित्ता सेयर ५४ करोड ४९ लाख ९३ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै नेपाल लाइफ ४२.४७ करोड, अपि पावर २५.९५ करोड, अपर तामाकोशी २२.३८ करोड र एचआईडिसीएलको २०.४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिनर्जी पावर, अरुण काबेली पावर, शिखर इन्स्योरेन्स र नेपाल टेलिकम पनि शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नेपाल टेलिकमको १३.४९ करोडको सेयर कारोबार भएको छ ।

यसदिन नेपाल हाइड्रो डेभलोपर लिमिटेडको सबैभन्दा धेरै ८.०८ प्रतिशतले मूल्य बढेको छ । यस्तै एनआरएन इन्फ्रास्टक्चर लिमिटेड, शिखर इन्स्योरेन्स र साहस उर्जाको सेयरको भाउ २ प्रतिशत बढीले उकालो लागेको छ ।

कारोबारीको तीव्र चलखेलका कारण उचालिएको विन लघुवित्तको सेयरमूल्यमा आइतबार नकारात्मक सर्किट लागेर घटेको छ । लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १९५.९० रुपैयाँले घटेर १७६३.३० मा झरेको छ । प्रतिसेयर २९ रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सेयर कारोबारीले कम पूँजी भएका कारण पम्प एण्ड डम्पको अभ्यास गरेका हुन् । यस लघुवित्तको सेयर खरीद गरेका लगानीकर्ताले अब वर्षैसम्म घाटा ब्यहोर्नुपर्ने देखिन्छ ।

यसैगरी अघिल्लो आवको ३१ प्रतिशत बोनस सहित ५१ प्रतिशत लाभांश दिएको नेपाल लाइफले आव २०७६।७७ बाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि मात्रै नगद दिएपछि कम्पनीको सेयरको भाउ ७.६१ प्रतिशत अर्थात १२५ रुपैयाँ घटेर १५०६ रुपैयाँमा झरेको छ ।

यस्तै बुद्धभुमी हाइड्रोपावर ६.४५ तथा तेह्रथुम पावर, छ्याङ्दी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, सिइडिबी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, र गुहेश्वरी मर्चेन्टको सेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  १५ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।