नेप्सेमा दोहोरो अंकको गिरावट, ६.२८ अर्बको कारोबार

0
Shares

तीव्र उतार चढावका बीच नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।

प्रि-ओपनिङ्गमा २५ अंकले बढेको नेप्से त्यसपछि नियमित समयको सुरुवाती पाँच मिनेटमा नै २९२१ बिन्दुसम्म बढेको थियो । तर अल्पकालीन कारोबारीहरुले नाफा सुरक्षित गर्दा त्यसपछि घट्न थालेको बजार निरन्तर घट्दो क्रममा देखिएको थियो । मंगलबार सेयर बजारमा ८२ अंकको उतारचढाव देखिएको छ ।

मंगलबारको १६.३० अंकको गिरावटपछि सूचक २८३५.५८ बिन्दुमा झरेर बन्द भएको छ । कुल २३० कम्पनीका १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब २ करोडको सेयर खरिदबिक्री भएकोमा १ अर्ब २६ करोडले कारोबार रकम बढेको हो । 

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये ब्यापार, होटल, निर्जीवन बीमा, उत्पादन र म्युचुअल फण्ड मात्रै सामान्य सकारात्मक रहे । जलविद्युत र लगानी समान १.५४ प्रतिशतका दरले घटेको बजारमा विकास बैंक र जीवन बीमा पनि १ प्रतिशत अधिक बिन्दुले ओरालो लागेको छ ।

आज कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अब्बल देखिएको छ । कम्पनीको ६ लाख ११ हजार ७५५ कित्ता सेयर ३५ करोड ८५ लाख १२ हजार ४३३ रुपैयाँमा खरीद बिक्री भएका छन् । यसैगरी अपि पावर ३३.०२ करोड, निफ्रा ३२.३३ करोड, अपर तामाकोशी ३२.०८ करोड, एचआईडिसीएल ३०.१२ करोड, नेशनल हाइड्रोपावर २१.१४ करोड, नेपाल इन्स्योरेन्स १६.०१ करोड, नेपाल टेलिकम १३.४४ करोड, अरुण काबेली पावर ११.३४ करोड र सानिमा माइ हाइड्रोपावरको १०.७९ करोडको सेयर कारोबारमा आएको छ ।

आज एभरेष्ट इन्स्योरेन्स संस्थापक सेयरको मूल्य सर्वाधिक ६.१५ प्रतिथशतले बढेको छ । नेपाल इन्स्योरेन्स र बुदभुमी हाइड्रोपावरको सेयरमूल्य ३ प्रतिशत बढीले बढेको छ ।

उता वित्तीय अवस्थामा केही सुधार गरेपनि करिब डेढ करोड नोक्सानी ब्यहोरेको वित्तीय विवरण सार्वजनिक भएसँगै लिवर्टी इनर्जी कम्पनीको सेयरमूल्य ६.२७ प्रतिशतले ओरालो लागेर ३८९ रुपैयाँमा झरेको छ । यसैगरी नेपाल हाइड्रो डेभलोपर ५.१८, बोटलर्स नेपाल तराई, युनिभर्सल पावर, तेह्रथुम पावर र अपर तामाकोशीको सेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपनि अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयलाई लिएर सत्तारुढ पाँचदलीय गठबन्धनबीच तिक्तता छाएकाले पनि त्यसको असर सेयर बजारमा परेको हो ।

सत्तारुढ घटकमध्येको दल नेकपा माओबादी केन्द्र सहित अन्य केही दल परिमार्जन बिना एमसीसीका पास गर्न तयार छैनन् भने प्रधानमन्त्री सेरबाहादुर देउवा जुनसुकै अवस्थामा संस्दको आगामी बैठकमा एमसीसी संसदमा टेबुल गर्न चाहन्छन् । सरकारले निर्वाचनको मिति तय गरेपनि राजनितीक अन्यौलता चुलिएकले बजारमा लगानीकर्ताहरु अझै प्रवेश गर्न डराउँदा उच्च बिक्री चापका कारण बजार घटेको हो ।मंगलबार सेयर बजारमा आएको गिरावटसँगै कुल बजार पूँजीकरण ४० खर्ब ७ अर्ब ७२ करोड रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ माघ २०७८, मंगलबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।