राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड बिहीबार दिउँसो ३ बजे, ९७% ले सेयर नपाउने

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँड फागुन १२ गते बिहीबार दिउँसो ३ बजे हुने भएको छ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार आईपीओको बाँडफाँड भोलि दिउँसो ३ बजे क्यापिटलको कार्यालय, लाजिम्पाट काठमाण्डौंमा गरिनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ गोलाप्रथाबाट भाग्यमानी ७९ हजार ४५० जनाले मात्र गोलाप्राथाबाट १० कित्ताका दरले पाउनेछन् । कुल आवेदकमध्ये २५ लाख ५५ हजार १७६ जनाको हात भने खाली हुनेछ । सेयर नपाउनेको हिस्सा कुल आवेदकको ९६.९८ प्रतिशत हो । ३.०२ प्रतिशत आवेदकले मात्र सेयर पाउनेछन् ।

लघुवित्तले फागुन ४ गते बुधबारबाट फागुन ८ गते आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १३ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी ७ लाख ९४ हजार ५०० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

उक्त आईपीओमा संस्थाको आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६२६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ता खरीदका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग भएको संख्याको तुलनामा ३८.४२ गुणा बढी हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था रहेको थियो । आईपीओमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सदस्यता अनुमति स्वीकृती प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने व्यवस्था थियो ।

आईपीओ निष्काशनका लागि कम्पनीले गराएको साख मूल्याङ्कनमा क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई ‘इक्रा एनपी आईआर डबल बि रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था समयमै वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७८, बुधबार  १४ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।