ग्रीन भेन्चर्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ८१.२६ प्रतिशत बिक्री भएको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमबार ५ बजेसम्ममा सि आश्वा प्रणालीबाट २५ करोड ३९ लाख २९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार २९० कित्ता खरीदको माग आवेदन परेको छ । उक्त संख्याको सेयर ५ हजार ३३१ जनाबाट माग परेको हो ।
कम्पनीले फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि ३१ लाख २५ हजार कित्ता सेयर जारी गरेको थियो ।

यसैबीच साेमबार कम्पनीकाे आईपीओमा आवेदन दिने म्याद एक हप्ताका लागि थपिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडका अनुसार अब लगानीकर्ताले फागुन २३ गते सोमबारसम्म आईपीओ भर्न सक्नेछन् ।
कम्पनीले फागुन २ गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको हो । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेकोमा १६ गतेसम्म ६० प्रतिशत मात्र सेयर बिक्री भएपछि ७ दिनका लागि समय थपिएको हो । यससँगै अब आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३ (साविक रगनी, गाविस र खिजीचण्डेश्वरी गाविस), लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), रामेछापको लिखु तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गाविस, रामेछाप) लिखु तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस रामेछाप) र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजी गाविस रामेछाप) का बासिन्दाहरुले आवेदन दिन सक्छन् ।
आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने मध्यम क्षमता रहेको संकेत गर्ने ‘केयर एनपी डबल बी आईएस रेटिङ’ प्रदान गरेको छ । हाल कम्पनीको संस्थापकहरुबाट २ अर्ब ५० करोड रुपैयाँ पूँजी चुक्ता भएको छ । सर्वसाधारणमा सामूहिक लगानी कोष र कर्मचारीसहित १० प्रतिशत र आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत सेयर बाँडफाँडपछि ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
कहाँ कहाँबाट भर्ने ?
ग्रीन भेन्चर्स लिमिटेडको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।
यसका अलवा आयोजना स्थल ग्रीन भेन्चर्स लिमिटेड, बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौं, लक्ष्मी बैंकको रामेछाप र मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, लिखु, रामेछाप शाखा र मेगा बैंकको खिजिदेम्बा, ओखलढुङ्गा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया