हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले संस्थापक सेयरको बोलकबोलका लगानीकर्तालाई रकम फिर्ता गर्ने प्रकृया सुरु गरेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले हाललाई उक्त संस्थापक सेयरको बिक्री प्रक्रिया स्थगित गर्न निर्देशन दिएपछि कम्पनीले प्राप्त बोलपत्र शुक्रबारदेखि फिर्ता गर्न लागेको हो । बोर्डको निर्देशनमा यसअघि संस्थापक सेयर लिलामी प्रक्रिया स्थगित भैसकेको छ ।
कम्पनीले दोस्रो चरणमा फागुन १ गतेदेखि १५ गतेसम्म अवितरित संस्थापकतर्फको ३ करोड ३० लाख कित्ताको लिलामी बिक्री खुला गरेको थियो । तर बीचमा नै फागुन १३ गतेदेखि उक्त सेयरको बिक्री प्रकृया रोक्का गरिएको थियो । फागुन १३ गतेसम्म प्राप्त गोप्य शिलबन्दी बोलपत्र फिर्ता हुनेछ ।
नियामक निकाय बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि बिक्री प्रक्रिया स्थगित गर्न पुनः निर्देशन दिएसँगै कम्पनीले रकम फिर्ता गर्न लागेको हो ।
कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रदमा सर्वसाधारण तर्फको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापकतर्फ ३ करोड ३० लाख गरी कुल ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता वितरण हुन सकेको थिएन ।
अवितरित हकप्रद पहिलो चरणमा गत असोज ७ गतेदेखि १४ गतेसम्म लिलामीमा बिक्री खुला गरेको थियो । सो बेला सबै सर्वसाधारण सेयर बिक्री भएपनि संस्थापक सेयर लिलामीमा न्यूनतम एक करोड कित्ताको सीमाका कारण बिक्री हुन नसकेपछि दोस्रो चरणमा कम्पनीले नियमावलीमा संशोधन गरेर न्यूनतम १०० कित्ताको सीमा कायम गरेर खुलाएको थियो ।
कसरी फिर्ता लिने ?
संस्थापक सेयर खरीदका लागि फागुन १ गतेदेखि १३ गतेसम्म बोलकबोल आवेदन दिएका बोलपत्रवालाहरुले कम्पनीले तोकेको ढाँचामा निवेदन दिनुपर्ने छ । कम्पनीको वेवसाइट तथा सम्बन्धीत कार्यालयहरुबाट उक्त ढाँचाको निवेदन प्राप्त गर्न सकिनेछ ।
निवेदनका लागि बैंक भौचर वा आईपीएसमार्फत मार्फत जम्मा गरेका बोलपत्रवालाहरुको हकमा रकम फिर्ताका लागि कम्पनीले तोकेको ढाँचामा बैंक भौचर वा आईपीएसको सक्कल स्टेटमेन्ट समेत संलग्न राख्नुपर्नेछ । यसरी निवेदन दिइसकेपछि आवेदकलाई सक्कलै शिलबन्दी बोलपत्र फिर्ता गरिनेछ ।
बोलपत्रदाताहरुले निवेदनका साथमा बोलपत्र दर्ता गर्दा बिक्री प्रबन्धक तथा संकलन केन्द्रले दिएको सक्कलै दर्ता रसिद, खोलिएको शिलबन्दी बोलपत्र, नागरिकता वा आफ्नो परिचय खुल्ने आधिकारिक कागजातको प्रतिलिपि समेत पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको लिलामी सेयर खरीदका लागि कुल ६३७ वटा आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । जसमा काठमाण्डौं उपत्यकाबाट ४७७ वटा र उपत्यका बाहिरबाट १६० वटा बोलपत्र प्राप्त भएको थियो ।
एचआईडिसीएलको धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल काठमाण्डौं रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया