उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्कासनको स्वीकृति पाएको छ ।
पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चैत ७ गते सोमबार लघुवित्तलाई सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको हो ।
लघुवित्तले बोर्डबाट जारी पूँजीको ३६ प्रतिशत बराबरले हुन आउने २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासन गर्नेछ ।
सेबोनको अनुमति पाएसँगै अब लघुवित्तले निष्कासनकाे मिति ताेकेर आईपीओ बिक्रीमा ल्याउनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एनबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई लघुवित्तले सेयर बिक्रीका लागि यसअघि नै बिक्री प्रबन्धकमा नियुक्त्त गरिसकेको थियो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले हस्ताक्षर गरेका थिए ।
जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको लघुवित्तमा ६४ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता संस्थापक समूहको रहेको छ । जारी पूँजीको ३६ प्रतिशतले हुन आउने २ लाख ६६ हजार २५० कित्ता सेयर बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । कम्पनीले आईपीओ जारी गर्न २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो।
कम्पनीको केन्द्रीय कार्यालय बाँके जिल्लाको कोहलपुर-११ मा रहेको छ । चालु आवको दोस्रो त्रैमाससम्म लघुवित्तले १ करोड ८८ लाख ४३ हजार रूपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ८९.७३ रूपैयाँ रहेको छ । पुससम्म चुक्ता पूँजी ४ कराेड २० लाख रहेकाे छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया