
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले बुधबारदेखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो । निष्काशित सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरु सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले अवेदन दिन सक्नेछन् ।
आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले चैत १६ गतेदेखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरु दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीका बारेमा
कम्पनी अन्तर्गत निर्माणाधीन बलेफी हाईड्रोपावर आयोजना भने सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाको वडा नं. २, ३ र ४ मा रहेको छ । कम्पनीले ३६ मेगावाट क्षमताको बलेफी हाईड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ र प्रति मेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ३ करोड १८ लाख ३० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ३० लाख ३४ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को पुससम्ममा कम्पनी ९ करोड ४० लाख १८ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले नोक्सानी झन् बढेर २७ करोड ९९ लाख ८८ रुपैयाँ पुग्ने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७५ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ६४ पैसा रहेको थियो भने प्रतिसेयर आम्दानी २८ पैसा नोक्सानीमा रहेको थियो ।
आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ र प्रति मेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ लाग्ने कम्पनीले प्रक्षेपण गरेको छ । साधारण तर्फ लगानी फिर्ता हुने अवधि ७.५४ वर्ष रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १४.१० वर्ष रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ रहेको छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ९७ लाख ७० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ ।
आईपीओ निष्काशनपछि कम्पनी सेयर स्वामित्व संस्थापक ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया