सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक यूवाहरुको लागि वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेशप्रदेश एवं नेपाली यूवा उद्यमी सञ्जाल वीरगञ्ज च्याप्टरको सहकार्य तथा ब्रोकर नं २२, सिप्रवी सेक्यूरिटिज प्रालिको आयोजनामा वीरगञ्जको होटल लर्डस दियालोमा उक्त कार्यक्रम भएको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले उदघाटन गरेको कार्यक्रममा वीरगञ्जका विभिन्न आधादर्जन कलेजका छात्रछात्राहरुको सहभागिता थियो ।
सेयर बजारमा लगानी गर्न जान्नुपर्ने अधारभूत सीप तथा कुराहरुबारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा बेटा अनालिटिक्स काठमाण्डौंका विक्रम चित्रकार तथा सन्जीव घिमिरेले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वीरगञ्जका मेयर सरावगीले सेयर बजार पछिल्लो समय अवसर खोज्नेहरुको लागि राम्रो प्लेटफर्म भएको चर्चा गर्दै लगानी गर्दा धेरै कुरामा सचेत भइ लगानी गर्न समेत बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले वीरगञ्जका युवाहरुको लागि यस्तो कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गरे । उनले अबको दुई तीन वर्षमा सफल सेयर कारोबारीको रुपमा पहिचान हासिल गर्ने युवालाई यस्तै कार्यक्रममा भविष्यमा सम्मानित पनि गर्ने उदघोष गरे ।
सिप्रवी सेक्यूरिटिज प्रालिका महाप्रबन्धक जयन्त श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा नेपाल धितो बोर्डकी निर्देशक प्रियंका रौनियार, वीरगञ्ज कलेजका सञ्चालक विनोद गुप्ता लगायतको सहभागिता थियो । कार्यक्रममा विपिसी, हरिखेतान, विआईटी, ग्लोबल विजनेश कलेज, वीरगञ्ज कलेजका छात्रछात्राहरुको सहभागिता थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया