नेपाल टेलिकमको लाभांश अनुमोदन, चुक्ता पूँजी १८ अर्ब पुग्यो

0
Shares

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ४० प्रतिशत लाभांश अनुमोदन भएको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभाबाट आर्थिक वर्ष २०७७।७८ को मुनाफा रकम मध्येबाट कम्पनीका सेयरधनीहरुलाई प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ताको अनुपातमा बोनस सेयर र प्रतिसेयर २० रुपैयाँ दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

लाभांश पारित भएसँगै कम्पनीको जारी तथा चुक्ता पूँजी १८ अर्ब पुगेको छ । सभाले पूँजी वृद्धि हुने भएपछि जारी तथा चुक्ता पूँजी पनि १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ । साधारण सभामा करिब ९२ प्रतिशत सेयरधनीहरुको उपस्थिति रहेको थियो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

यसैगरी साधारण सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेश गुरागाँईं र चार्टर्ड एकाउण्टेण्ट पीयूष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य सर्तहरु निर्धारण गरेको छ ।

सभामा सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारण सभामा उपस्थित सेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष अर्यालले सेयरधनीहरूको अटुट विश्वास, उपभोक्ताको भरोसा एवं सद्भाव, कम्पनीमा कार्यरत कर्मचारीहरूको अथक परिश्रम र अन्य सरोकारवालाहरूको सहयोगका कारण देशकै अग्रणी दूरसञ्चार सेवा प्रदायकको रूपमा कम्पनी स्थापित भएको बताए ।

उनले उपभोक्ताको अपेक्षा अनुरूप सुलभ, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल, अग्रणी संस्थाको रूपमा विकास गर्न सबैबाट प्राप्त सहयोग, सद्भाव, विश्वास र रचनात्मक सुझावका लागि हार्दिक आभार प्रकट गरेका थिए । साथै उनले सभामा कोभिड–१९ को प्रतिकूल अवस्थामा पनि कम्पनीले आफ्नो सेवालाई कुशलताका साथ प्रवाह गर्दै आएको, महामारीकै कारण कोही पनि सेवाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई थप सहुलियत प्रदान गर्ने गरी विद्यमान महशुलमा छुट दिनुका साथै जरिवाना समेत मिनाहा गरेको र विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ चैत्र २०७८, बिहिबार  १८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।