भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले बीस वर्ष अवधि पुगेका सवारीसाधन हटाइने व्यवस्थामा परिवर्तन गरिने बताएकी छिन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छेटौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले कोभिडका कारणले लामो समयसम्म सवारी साधन थन्किएका कारणले त्यसलाई बढाउन आवश्यक रहेको बताएकी हुन् ।
कतिपय सवारीसाधनमा कम वर्ष चलेपनि तथा प्रदूषण जाँच भएर हरियो स्टिकर टाँसिए पनि सडकमा प्रदूषण फैलाएकाले त्यसमा ध्यान दिइनुपर्ने उनले बताइन् ।
मन्त्री यादवले सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्ने बताइन् । मन्त्री यादवले सवारी साधनमा क्षमताअनुसार यात्रु राख्ने र मर्मतमा ध्यान दिनुपर्ने बताइन् । कतिपय सवारी दुर्घटनाका कारण सवारी साधनको खराब अवस्था पाइएको उनले बताइन् ।
सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उनले बताइन् । उनले भनिन्, “बसमा चढ्दा तँछाडमछाड गर्नुपर्ने अवस्थामा परिवर्तन गर्न खाँचो छ ।”
विगतमा भाडा समायोजनका लागि व्यवसायीले आन्दोलन गर्नुपर्ने भए पनि अहिले पेट्रोलियम पदार्थ बढेपछि बढाइएको उनले बताइन् । सडक र रेल निर्माणमा धेरै उपलब्धि हासिल भइरहेको मन्त्री यादवले बताइन् ।
एक लाख किलोमिटरभन्दा बढी सडक बनिसकेको र हुम्ला सदरमुकाम बाहेक ७६ जिल्लाको सदरमुकाममा सडक सञ्जाल पुगेको उनले जानकारी दिइन् ।
केही वर्षदेखि थन्किएको रेल अहिले सञ्चालन भएको र भविष्यमा यसको विस्तार हुने उनले बताइन् । उनले भनिन्, “अहिले जयनगरबाट कुर्थासम्म रेल सञ्चालनमा रहेकामा छिट्टै बिजुलपुरासम्म विस्तार हुनेछ ।”
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले नेपालमा अरू किसिमका यातायातको विकास गर्न लामो समय लाग्ने देखिएकाले सडक सञ्जाल व्यवस्थित बनाउनुपर्नेमा जोड दिइन् । संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बजारमा सबै कुराको भाउ बढ्दा पनि सवारी साधनको भाडा बढ्न नसक्ने गरेको बताइन् ।
आइतबारदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । आज (सोमबार) देखि गोदावरीस्थित सम्मेलन केन्द्रमा बन्द सत्र सुरु हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया