सिवाईसीको आईपीओ २२ लाख बढीले नपाउने, बिहीबार बिहान ९ बजे बाँडफाँड हुँदै

0
Shares

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड हुँदैछ ।

लघुवित्तको आईपीओमा आवेदनको ओइरो लागेपछि एक सय जनामा दुई जनालाई मात्र सेयर बाँड्न पुग्ने तथ्याङ्क प्राप्त भएको छ । यसअघिको उपकार लघुवित्तको आईपीओमा १ प्रतिशतले मात्र सेयर पाउने तथ्याङ्क देखिएकोमा यो निष्काशनमा पनि २ प्रतिशतले मात्र आईपीओ पाउने अवस्था आएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराएको अन्तिम बैशाख ६ गते मंगलबारसम्मको तथ्याङ्कका आधारमा उपलब्ध सेयर संख्या र आवेदक हेर्दा एक सय जनामा जम्मा २ जनाले मात्र सेयर पाउनेछन् । उच्च आवेदनका कारण सीवाईसी लघुवित्तको आईपीओ एक सय जनामध्ये ९८ जनाले सेयर नपाउने तथ्याङ्क देखिएको हो । यसअनुसार आईपीओ हात पार्न भाग्यकै भरपर्नुपर्नेछ ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि सर्वसाधारणमा बिक्री खुला भएको सार्वजनिक निष्काशन आईपीओमा अन्तिम दिन मंगलबारसम्म २२ लाख ८४ हजार ८४९ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ ३६ हजार ९४८ जनाले मात्रै पाउनेछन् । यो कुल आवेदकको १.६५ प्रतिशत मात्र हो ।

अन्तिम तथ्याङ्कमा केही रद्द हुँदा कुल आवेदकको २ प्रतिशतले मात्र सेयर पाउनेछन् भने ९८ प्रतिशत अर्थात २२ लाख ४७ हजार ९०१ जनाको हात खाली हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सेयर बाँडफाँड गर्दा ३६ हजार ९४८ जनालाई १० कित्ताका दरले ३ लाख ६९ हजार ४८० कित्ता सेयर सकिनेछ । यसरी बाँडफाँड गर्दा सर्वसाधारणमा जारी भएकोमध्ये ८ कित्ता सेयर बाँकी रहनेछ । उक्त सेयर गोलाप्रथाबाट सेयर पाउनेमध्ये भाग्यशाली ८ जना आवेदकलाई थप १।१ कित्ताका दरले पाउनेछन् । तथ्याङ्कका प्रशेधनपछि आवेदक संख्या केही घट्दा पनि २ प्रतिशत हाराहरीले मात्र सेयर पाउनेछन् ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा कुल २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको २ करोड ५७ लाख ६१ हजार ९१० कित्ता सेयरको लागि आवेदन परेको छ । सिडीएससीका अनुसार मंगलबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ६९.७२ गुणा बढी हो ।

लघुवित्तले बैशाख २ गते शुक्रबारदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो । निष्काशित कुल सेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार  १८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।