नेप्से निरन्तर ओरालो लाग्दा ‘प्यानिक’ बन्दै लगानीकर्ता, सूचक २३०० बिन्दुमुनी झर्‍याे

0
Shares

सेयर बजारमा मापक सूचक नेप्से यो साताको दोस्रो कारोबार दिन बुधबार पनि राताम्मे भएको छ । सूचक घटेर २ हजार ३०० बिन्दुमुनी झरेको छ भने सूचक निरन्तर आरालो लाग्न थालेपछि लगानीकर्तामा थप निराश भएका छन् । आइतबार मजदुर दिवस र मंगलबार इदको सार्वजनिक विदाका कारण सेयर बजार बन्द थियो । कारोबार भएका दुबैदिन नेप्से घटेको हो ।

बुधबार ३१.७६ अंकको गिरावटपछि सूचक २२७५ दशमलव ६८ बिन्दुमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ४.९० अंकले घटेर ४३६ दशमलव ८८ बिन्दुमा झरेको छ । आज कारोबारमा आएका सबै उपसमुहगत सुचक राताम्मे भएका छन् ।

यसदिन १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ रूपैयाँको सेयर कारोबार भएको छ । आज २३३ वटा कम्पनीको ३६ लाख २ हजार ८४८ कित्ता सेयर २७ हजार ५६६ वटा संख्यामा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । बुधबार १३ उपसमूहगत सूचकमध्ये आज जीवन बीमा, जलविद्युत, विकास बैंक, ब्यापार, वित्त र निर्जीवन बीमा सूचकमा २ प्रतिशत बढी गिरावट देखिएको छ ।

आज बढ्ला, भोलि बढ्ला भनेर आशामा बसेका लगानीकर्ताहरु बुधबारको गिरावटपछि नेप्से २२ सयको लाइनमा झरेपछि लगानीकर्ता थप प्रताडित बनेका छन् । लगानी गरेका सबैजसो क्रिप्टहरुमा नोक्सनी ब्यहोरेपछि कतिपय लगानीकर्ता सेयर बजारबाट घाटा खाएर बाहिरिएका छन् भने कारोबार गरिरहेकाहरु पनि आकलझुकल मात्रै सेयर कारोबारमा संलग्न हुने अवस्था सृजना भएको छ ।

बुधबार कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी अब्बल बनेको छ । कम्पनीको सर्वाधिक ४ करोड ५८ लाख ९६ हजार ६५९ रूपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरी, नबिल बैंक र नेपाल टेलिकमको ३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबारमा आएको छ ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल् ९.९९ प्रतिशतले बढेर १३८२.४० रुपैयाँ पुगेको छ । बरुण हाइड्रोपावरका लगानीकर्ताले ४.४५ प्रतिशतले कमाउँदा सानिमा इक्वीटी फण्डको मूल्य पनि २ प्रतिशत बढीले बढेको छ ।

उता आजको बजारमा ग्रीन भेञ्चर्स लिमिटेडको सेयरमूल्य सर्वाधिक ९।३६ प्रतिशतले घटेको छ । कम्पनीको सेयरमूल्य ३३.५० रुपैयाँ घटेर प्रतिकित्ता ३२४.५० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

एभरेष्ट इन्स्योरेन्स संस्थापक, युनियन हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर, बुद्धभुमी माई हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।