नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको जेठदेखि बैंकहरुको ब्याजदर बढ्ने अभिव्यक्ति र तरलता संकटका कारण यो साता सेयर बजार सूचक मापक नेप्से ११७.५५ अंक अर्थात ४.९९ प्रतिशत घटेर २२३८.६२ बिन्दुमा झरेको छ ।
यस साताको सुरुमा आइतबार २३५६.१७ बिन्दुमा खुलेको नेप्से अन्तिम दिन बिहीबार २२३८.६२ बिन्दुमा झरेको हो ।
यो साता नेप्सेमा १३२.६६ अंकको उतार चढाव देखा पर्यो । सातामा २३५९.२७ को उच्चतम बिन्दसम्म चढेकाको नेप्से २२२६.६१ बिन्दुसम्म झरेको थियो ।
यो साता तीन कारोबार दिन मात्र सेयर खरीद बिक्री भयो । यो साताको आइतबार मे दिवस तथा मंगलबार इदको अवसरमा सार्वजनिक बिदाका कारण सेयर बजार बन्द रहेको थियो ।
सातामा ४ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दैनिक औषतमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस साता १ करोड २२ लाख २५ हजार कित्ता सेयर ९३ हजार २३० वटा संख्यामा खरीद बिक्री भएको हो ।
गत साता पाँच कारोबार दिनमा दैनिक औषतमा १ अर्ब ६४ करोड ११ लाख रुपैयाँका दरले कारोबार हुँदै सातामा कुल ८ अर्ब २० करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएको सुस्तता र नेप्से घट्दा सेयरमूल्य घटेपछि सूचीकृत कम्पनीको मूल्य घट्दा यस साता कुल बजार पूँजीकरण ५ प्रतिशत अर्थात १ खर्ब ६६ अर्ब रुपैयाँ घटेको छ । गत साता ३३ खर्ब ५१ अर्ब रुपैयाँबाट घटेर ३१ खर्ब ८४ अर्ब रुपैयाँ झरेको हो ।
यस साता सबै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.९४ प्रतिशत घटेको छ । सबैभन्दा कम घटेको म्युचुअल फण्डको सूचक १.९३ प्रतिशतले घटेको छ ।
यस साता हिमालयन जनरल इन्स्योरेन्स, साता समता घरेलु लघुवित्त, महुली लघुवित्तको बोनस बोनस तथा एभरेष्ट बैंकको ऋणपत्र गरी ४ कम्पनीको कुल २७ लाख ४२ हजार १.७२ कित्ता धितोपत्र सूचीकृत भएको छ ।
यस साता जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक ३३.०८ प्रतिशत बढेर १५२०.६० रुपैयाँ पुगेको छ । एनआईसी एशिया सेलेक्ट फण्डको मूल्य २.६७ प्रतिशत र सामुदायिक लघुवित्तको १.१५ प्रतिशतले बढेको छ ।
यो साता नेपाल फाइनान्सका सेयर लगानीकर्ताले सबैभन्दा धेरै ४१.५७ प्रतिशतले गुमाएका छन् । फाइनान्सले ७० प्रतिशत हकप्रदको बुकक्लोज गरेकाले पनि सेयरमूल्य घटेको हो । यस्तै युनियन हाइड्रोपावरको सेयर लगानीकर्ताले १९.६५ प्रतिशत, ग्रीन भेञ्चर १९.४५, बुद्धभुमी हाइड्रोपावर १६.६७, छ्याङ्दी हाइड्रोपावर १४.२०, दिब्यश्वरी हाइड्रोपावर १४.०६, लिर्टी इनर्जी १३.९८, मल्टिपपर्स फाइनान्स १३.६१, घलेम्दी हाइड्रोपावर १३.३७ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य १२.८५ प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा यो साता अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै १३ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालउन डिष्टिलरी, सूर्या लाइफ, नबिल बैंक, एनआईसी एशिया बैंक र निफ्राको १० करोड माथि सेयर खरीद बिक्री भएको छ । यो साता कारोबार संख्या र कारोबार कित्ता दुबैमा निफ्रा अगाडि छ । बैंकको ३ हजार ३६५ वटा कारोबारबाट ३ लाख ४६ हजार ६६८ कित्ता सेयर कारोबारमा आएको हो ।
यो साता उच्च सेयर खरीद गर्ने शीर्ष पाँच ब्रोकरमा नासा, इम्पेरियल, अनलाईन, भिजन, र आर्यातारा रहेका छन् । यी ब्रोकरहरुले १४ देखि साढे २४ करोड रुपैयाँसम्म सेयर किनेका हुन् । शीर्ष सेयर बिक्री गर्ने पाँच ब्रोकर कम्पनीहरुमा नासा, भिजन, दिपशिखा, अनलाईन र इम्पेरियल सेक्युरिटिज रहेको छ । यी ब्रोकरहरुले साढे १९ करोड देखि सवा २० करोड रुपैयाँसम्म सेयर बेचेका हुन् ।
माथिका ब्रोकर कम्पनीहरुबाट यो साता सूर्या लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टस्, नबिल बैंक, नेपाल टेलिकम, एनआईसी एशिया बैंक उच्च खरीद भएको छ भने एनआईसी एशिया बैंक, नेपाल टेलिकम, अपि पावर कम्पनी, महालक्ष्मी विकास बैंक र अरुण भ्याली हाइड्रोपावरको सेयर बिक्री भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया