
शुक्रबार पहिलो पटक नियमित कारोबारमा आएको पहिलो कारोबार दिन नै सेयर बजार ऋणात्मक बनेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्सेमा गिरावटले निरन्तरता पाएको छ । यो साताको चार कारोबार दिनमा बुधबार साढे ८ अंकले नेप्से बढेपनि बाँकी तीन कारोबार दिन बजार ओरालो लागेको हो ।
बिहीबार साढे २३ अंक घटेको बजारमा शुक्रबार पौने १६ अंकको गिरावट आएको हो । यसअघि मंगलबार करिब ८५ अंकले घटेको थियो । स्थानीय तहको निर्वाचनपछि आम लगानीकर्तामा चुनावमा भएको खर्चका कारण सेयर बजारमा सुधार आउने अनुमान विपरित भोलिपल्टै उच्च अंकको गिरावटले मुठीमा पैसा बोकेर बजार छिर्न तम्तयार रहेका लगानीकर्ताहरु पनि हाल बजार थप करेक्शन हुने आशमा पर्ख र हेरको अवस्थामा रहेका छन् ।
नेप्से घटेर सूचीकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य सस्तिँदै जाँदा लगानीकर्ताहरुलाई भने बजारमा लगानीको अवसरसिर्जना भएको छ । चालु आव सकिन २ महिना मात्र बाँकी रहँदा सरकारी खर्च बढ्दै जाने, बैंकर्स संघको ब्याजदर नबढाउने निर्णय, चुनावी खर्च विस्तारै बैंकिङ्ग प्रणालीमा भित्रने तथा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारी गरेकाले पूँजीबजारको विषयमा सम्बोधन हुने सम्भावना भने बजारका लागि सकारात्मक पक्ष हुन् ।
सेयर बजार सुस्ताउँदा गत आवको १४ अर्ब बढीको पूँजीगत लाभकर उठाएपनि चालु आवको अन्तिम चौमासिक अवधिमा बजार सुस्ताउँदा सरकारले प्राप्त गर्ने पूँजीगत लाभकर समेत घट्ने अवस्था छ । अघिल्लो वर्षभन्दा सरकारको आयस्रोत घट्दा यसलाई सरकारले बजेट मार्फत सम्बोधन गर्ने सम्भावना रहेको छ भने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले समेत आफ्नो पफमेन्स देखाउन बाँकी नै रहेकाले पनि बजारले अब सकारात्मक दिशा लिनसक्ने अवस्था रहेको बुझाई छ ।

शुक्रबार नेप्से १५.८२ अंकले घटेर २२३५.०९ अंकमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स २.४७ अंकले घटेर ४३४.७३ अंकमा झरेको छ । आज बिहीबारको तुलनामा ३७ करोडले कारोबार रकम घटेर ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँ बराबरको सेयर काराबार भएको छ । यसदिन २२३ कम्पनीका २५ लाख २४ हजार २६८ कित्ता सेयर १९ हजार १०९ वटा संख्यामा खरीद बिक्री भएका छन् ।
आज कारोबारमा आएका तेह्र उपसमुहगत सूचकमध्ये म्युचुअल फण्ड बाहेक सबै घटेको छ । ब्यापार सर्वाधिक २.३८ प्रतिशत, जीवन बीमा र निर्जीवन बीमा कम्पनीको सूचक पनि १ प्रतिशत अधिक घटेका छन् । म्युचुअल फण्ड ०.४६ प्रतिशतले बढेको छ ।
शुक्रबार अरुण काबेली पावरको ३ करोड २ लाखको सेयर कारोबार हुँदा हिमालयन डिष्टिलरीको २ करोड ८४ लाख, सांग्रिला डेभलपमेन्ट बैंक संस्थापक २ करोड ७६ लाख, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ६९ लाख, अपि पावर २ करोड ६७ लाख र नागरिक लगानी कोष २ करोड ६१ लख रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।
आज सबैको लघुवित्त, श्री इन्भेष्ट एण्ड फाइनान्स, लक्ष्मी लघुवित्तको सेयरमूल्य २ प्रतिशत बढीले घटेको छ । तेह्रथुम पावरको सेयरमूल्य ४.९४ प्रतिशतले घटेर प्रतिसेयर ४६० रुपैयाँमा झरेको छ । यस्तै प्रभु लाईफ, एनएमबि ५०, लुम्बिनी जनरल, सनराइज ब्लूचिप फण्ड, एशियन लाइफ, जनरल इन्स्योेरेन्स, नयाँ सारथी लघुवित्त, जोशी हाइड्रोपावर र अजोड इन्स्योरेन्सको सेयरमूल्य ३ प्रतिशत बढीले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया