
नेपाल राष्ट्र बैंक लिमिटेडले २२ करोड ३२ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुबाट प्रस्ताव आह्वान गरेको छ ।
केन्द्रीय बैंकले विभिन्न कोषहरूमा रहेको उक्त रकम एक वर्ष (३६६ दिन) का लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न खोजेको हो । जसअनुसार बैंकले २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गतेसम्म लगानी गरिने उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १७ करोड ८७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३४ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ११ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न खोजिएको एक सूचना मार्फत जानकारी दिएको छ ।
उक्त रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले जेठ २० गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट तोकिएको सर्तहरुको अधिनमा रहेर आफूले निक्षेप लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर तोकि आवेदन गर्न आह्वान गरेको छ ।
यसरी बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी उक्त फारमलाई पीडिएफ फरमेटमा स्क्यान गरी पासवर्ड प्रोटेक्ट गरी कुल लगानी योग्य रकम मध्ये लिन चाहेको रकम खोली यस विभागमा २०७९ जेठ १३ गते बेलुका ५ बजेभित्र प्राप्त हुने गरी व्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । उक्त पासवर्ड प्रोटेक्टेड फाइलको पासवर्ड जेठ १६ गते मध्यान्ह १२ बजेभित्र पठाउनुपर्ने जनाइएको छ ।
रकम लगानी गर्नका लागि केन्द्रीय बैंकले केही सर्तहरुसमेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएका र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने रहेको छ ।यसैगरी कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आव।मा प्राभिजनपछि सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकेको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ ।
लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने उल्लेख छ ।
यस्तै शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनपर्ने, बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएको भए सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया