नमस्ते खाएर नबसी विकास निर्माणको निरन्तर अनुगमन गर्न अर्थमन्त्री शर्माको जनप्रतिनिधिलाई निर्देशन

0
Shares

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिलाई नमस्ते खाएर नबसी विकास निर्माणको कामको निरन्तर अनुगमन गर्न निर्देशन दिएका छन् ।

३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुम पश्चिममा निर्वाचित जनप्रतिनिधिहरुसँग शुक्रबार अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा मन्त्री शर्माले सो बताएका हुन् ।

जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भने ‘कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् ।’उनले पालिका भित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे ।

‘तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्’ उनले भने, ‘स्थानीय जनतालाई स–साना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकताहरु पुरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।’ मन्त्री शर्माले भने ।

उनले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र संघले बनाउने पनि जानकारी दिँदै पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न निर्देशन दिए ।

संघ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्यांकन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए । त्यस्तै प्रत्येक हप्ता जनताको बीच गएर अन्तरक्रिया, भेटघाट र सामिप्यता बढाउन उनले सुझाव थियो ।

मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यहरुलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीहरुसँग छलफल गर्न, जनप्र्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सो भन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

छलफलमा जनप्रतिनिधिहरुले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकता लगायतका बारेमा जानकारी गराएका थिए । मन्त्री शर्माले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग शुक्रबार अर्थमन्त्रालयमा भेट गरी अन्तरक्रिया गरेका हुन् । सो अन्तरक्रियामा रुकुम पश्चिमका नगरपालिका प्रमुख÷उप्रमुख, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्यलगायतको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार  १५ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।