श्वेत–गंगा हाइड्रोपावरको आईपीओलाई औसत जोखिम रेटिङ्ग

0
Shares

श्वेत–गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडलेले आज (जेठ २३ गते) देखि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) लाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङस् नेपालले औषत जोखिम रेटिङ्ग दिएको छ ।

कम्पनीले साधारण सेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूर रेटिङ्ग गराएको हो ।

सार्वजनिक निष्काशनका लागि रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडबाट साख मूल्याङ्कन गराएको हो ।“क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्स नेपाल लिमिटेड, काठमाण्डौंबाट २०७८ भदौ ८ मा गते रेटिङ्ग गराएको कम्पनीले जनाएको छ । जसमा कम्पनीले ‘केयर एनपी बीबी’ रेटिङ्ग प्रमाणपत्र पाएको छ । डलब बी इस्यूर रेटिङ्ग प्राप्त संस्थाले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ ।

केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘केयर एनपी एएए’ देखि ‘केयर एनपी डी’ सम्मको रेटिङ्ग प्रदान गर्दछ । जसमा रेटिङ्ग ‘केयर एनपी एएए’ ले सकारात्मक आधार जनाउँछ भने ‘केयर एनपी डी’ ले नकारात्मक आधारहरू जनाउँछ । उक्त रेटिङ्ग सन् २०२२ अगष्ट ८ तारेखसम्म बहाल रहने उल्लेख छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गा र रामेछापका स्थानीय बासिन्दाका लागि पहिलो चरणमा १५ लाख ९३ हजार कित्ता सेयर निष्कासन खुला गरेको हो । कम्पनीले पहिलो चरणमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने सेयर जारी गरेको हो ।

श्वेत–गंगा हाइड्रोले सोमबारदेखि स्थानीय बासिन्दालाई १६ लाख कित्ता सेयर निष्कासन गर्दै

श्वेत–गंगा हाइड्रोले पहिलो चरणमा १५ लाख ९३ हजार कित्ता सेयर निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने सेयर जारी गरेको हो । आयोजना प्रभावित क्षेत्रलाई पनि प्राथमिकताका आधारमा ३ चरणमा वर्गिकरण गरेर सेयर निष्काशन गरेको छ ।

आगामी भदौ असोजसम्म व्यावसायिकरूपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको कम्पनीको रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने लिखु खोलामा २८.१० मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माणाधीन छ ।

श्वेत–गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले प्रवद्र्धन गरेको आयोजनाको साधारण सेयर छिटोमा असार ६ गते र ढिलोमा असार २१ गते बन्द हुनेछ । सेयर खरिद गर्न आवेदकले न्यूनतम १० कित्ता र १० अंकको गुणाङ्कमा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।

तर ५ लाख रूपैयाँसम्म रकम बराबरको आवेदन गर्ने दरखास्तवालाले स्वेच्छिक रुपमा र ५ लाख भन्दा बढी रकम बराबरको आवेदन गर्ने दरखास्तवालाले अनिवार्य रुपमा प्यान नम्बर दरखास्त फारममा खुलाउनु पर्नेछ । यस अतिरिक्त १० लाख रूपैयाँ वा सोभन्दा बढी रकम आवेदन दिने आवेदकहरुले आफूले आवेदन दिँदा जम्मा गरेको रकम सम्पत्ति शुद्धीकरण ऐनको बर्खिलाप हुने गरी आर्जन नगरेको भनी उद्घोषण गर्नुपर्नेछ ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रवद्र्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिमेगावाट लागत २२ करोड ६७ लाख

कम्पनीले निर्माण गरिरहेको तल्लो लिखु आयोजनाको लागत पनि उच्च नै रहेको देखिन्छ । हाल निजी क्षेत्रबाट १७ १८ करोड प्रतिमेगावाट लागतमा पनि आयोजन निमार्ण भइरहेको सन्दर्भमा कम्पनीको लागत पौने २३ करोड लागत रहेको छ ।

आगामी असोजसम्म व्यावसायिक रूपमा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको तल्लो लिखु आयोजनाको निर्माण कार्य हालसम्म ९३ प्रतिशत पूरा भइसकेको छ । कूल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका अनुमान गरिएको छ । २८।१० मेगावाट क्षमताको आयोजना रहेकाले प्रतिमेगावाट लागत २२ करोड ६७ लाख ६१ हजार ५०० रुपैयाँ हुन आउँछ ।

कम्पनीको साधारण लगानी फिर्ता हुन ७ वर्ष ७ महिना र डिस्काउन्टमा लगानी फिर्ता हुन लाग्ने अवधि १४ वर्ष ८ महिना रहेको छ ।

कम्पनीले विसं २०७२ साल चैत २८ गते आयोजनाको उत्पादन अनुमतिपत्र लिएको थियो । विद्युत आयोजनाको अनुमतिपत्र वितरण सम्बन्धी निर्देशिका अनुसार उत्पादन अनुमतिपत्रको अवधि ३५ वर्ष तोकिएको हुन्छ । यस आधारमा कम्पनीले अझै २८ वर्ष १० महिना विद्युत उत्पादन गरी सञ्चालन गर्न पाउँछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  ०८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।